नेपाली फिल्मलाई विभेद गरी विदेशीको भरणपोषण गरियो : रेखा थापा

काठमाडौँ, २४ फागुन । भोलीदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्मको शो बाँडफाँटलाई लिएर निर्माताले आपत्ति जनाएका छन् । खासगरी उनीहरुको असन्तुष्टि धेरै पर्दा भएको हल क्यूएफएक्सप्रति लक्षित छ ।
शुक्रबार तीन नेपाली फिल्म उपहार, काँडेतार र रंगेलीसहित विदेशी फिल्महरु ‘कुङ्फु पान्डा ४’ र ‘शैतान’ रिलिज हुँदैछन् । ‘ड्युन २’ र ‘अगस्त्य’ दोस्रो सातामा प्रवेश गर्नेछन् ।
आफ्नो फिल्म ‘उपहार’लाई कम शो उपलब्ध गराएको भन्दै निर्मात्री तथा अभिनेत्री रेखा थापाले क्रुद्ध प्रतिक्रिया जनाएकी छन् । उनले लेखेकी छन्, ‘यसरी नेपाली चलचित्रलाई विदेशी फिल्मको वकालत गर्ने क्यूएफएक्सले विभेद गरेको छ । सँगैको बिग मुभिज, वान सिनेमा र एफक्युब लगायतका हलले सम्पूर्ण नेपालभरि सम्मानजनक शो उपलब्ध गराएको छ । त्यसमा आभार व्यक्त गर्दछु । क्यूएफएक्स चेनले नेपाली फिल्मलाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गरेकोमा आपत्ति छ । तीनवटा पर्दा भएका अन्य हलले चार शो दिन सक्ने तर काठमाडौंमा मात्र १३ स्क्रिन भएको चेनले तीन शो मात्र उपलब्ध गराउनुको अर्थ के हो ? नेपाली चलचित्रप्रेमी दर्शक र नेपाली चलचित्रसँग सम्बन्धित संघसस्थाहरु किन मौन ?’
