मादक पदार्थ सेवन गरी श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

भक्तपुर । भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ : १५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए । सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ ।
आरती साह हत्या प्रकरणमा थप एक पक्राउ
जनकपुरधामकी आरती साह हत्या प्रकरणमा झन्डै १० महिनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले थप एकजनालाई पक्राउ गरेको छ।
आरती साह हत्या प्रकरणमा जिल्ला हुँदै सर्वोच्च अदालतसम्म सुनुवाइ भइसकेको अवस्थामा बुधबार साँझ प्रहरीले जनकपुरका २७ वर्षीय रविकुमार साहलाई पक्राउ गरेको हो। पक्राउ परेका साह मृतक साहका देवर हुन्।
गत जेठ ७ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा आरती मृत फेला परेकी थिइन्। छोरीको हत्या भएको भन्दै माइती पक्षले आरतीका श्रीमान् मोतीबाबु साह र सासुरा मदनमोहन साहविरुद्ध किटानी जाहेरी दिएकाे थियाे।
सो मुद्दामा जिल्ला अदालत धनुषाले आरतीका श्रीमान् र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर, उच्च अदालत जनकपुरले दुवैजनालाई साधारण तारेखमा छाडेको थियो। पछि सर्वोच्च अदालतले आरतीका पतिलाई पुर्पक्षका लागि थुनामा राख्न र ससुरालाई एक लाख धरौटीमा छाड्न आदेश गरेको थियो।
प्रहरीले रविकुमार साहलाई पक्राउ गरेपछि हत्या आरोपी पक्षले जिल्ला प्रहरी कार्यालयअगाडि नाराजुलस लगाएको छ। जाहेरीसमेत नपरेका व्यक्तिलाई पक्राउ गरेर प्रहरीले आफ्नो परिवारमाथि अन्याय गरेको उनीहरूको दाबी छ।