साउण्ड सिस्टम व्यवसायीको चेतावनीपछि एलिनाको आत्मालोचना

काठमाडौँ, २६ फागुन । माफी नमागेसम्म साउण्ड सिस्टम उपलब्ध नगराउने व्यवसायीहरूले निर्णय गरेपछि गायिका एलिना चौहानले कमजोरी स्वीकार गर्दै आत्मालोचना गरेकी छन् ।
आफूले गरेको घटनामा तत्कालीन समयमा आफू आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेको उनले बताएकी हुन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘मञ्चिय प्रस्तुतिका क्रममा साउण्ड इन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई मैले मेरो कमजोरीका रूपमा स्वीकार गर्दछु । आगामी दिनहरूमा म त्यस प्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु । ’
पर्वतमा भएको तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा एलिना र साउण्ड सिस्टमका प्राविधिक बीच भनाभन भएको थियो ।
उक्त दिन पानी परेका कारण साउण्ड सिस्टममा समस्या आएको कारण देखाउँदै एलिना र प्राविधिकबीच भनाभन भएको हो ।