शो नदिएको भन्दै देशभरका हलबाट उतारियो काँडेतार




काठमाडौँ । फागुन २५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘काँडेतार’ लाई शनिबारदेखि प्रदर्शन नगर्ने निर्णय निर्माण कम्पनी सामना फिल्मस् प्रा. लि. ले गरेको छ । हलवालाहरूले चलचित्रलाई पर्याप्त शो नदिएको भन्दै प्रदर्शन नगर्ने निर्णय गरिएको निर्माता तथा निर्देशक नवल खड्काले जानकारी दिए ।

हिन्दी फिल्मलाई करिब ११५ वटा शो उपलब्ध गराइएपनि काँडेतारलाई मुस्किलले करिब २३ वटा शो दिइएको उनले बताए । अङ्ग्रेजी फिल्मलाई पनि करिब ७० वटा शो हल उपलब्ध गराइएको उनको भनाइ छ ।




‘चलचित्र शोमा प्राइम टाइम अति महत्त्वपूर्ण मानिन्छ । यही समयमा दर्शकहरू चलचित्र हेर्न निस्कन्छन्। तर चलचित्र काँडेतारलाई यस्तो प्राइम टाइम उपलब्ध गराइएन। दुई अन्य चलचित्र प्रत्येकलाई करिब ८०/९० वटा शोहरू प्राइम टाइममा दिइएको छ। तर हाम्रो चलचित्र काँडेतारलाई मुस्किलले करिब २३ वटा शो दिइएको थियो । ती पनि बिहान ८,९ र १० बजेका अधिकांश शोहरू छन् । जुन समय दर्शकहरू दैनिक चर्याका कारण घरबाट निस्केर चलचित्र हेर्ने गर्दैनन्,’ उनले भने ।

चलचित्र हलहरूबाट शो दिइँदा प्राइम टाइममा गडबडी हुन्छ भन्ने आफूहरूको कल्पनाभन्दा बाहिरको कुरा भएको र अन्तिम घडीमा चाल पाइएको उनको भनाइ छ । ‘त्यसबेला हामीले काँडेतारको प्रदर्शन रोक्न सम्भव थिएन। त्यसैले हामीले संकेतिकरुपमा चलचित्र शो गर्ने र आजचाहिँ रोक्ने नै निर्णय गरेका छाैँ, जुन कुरा हामीले चलचित्र हलवालालाई हिजो नै जानकारी गराएका थियौँ,’ उनले भने ।



सम्बन्धित
Loading...