होटलमा मृत भेटिएकी महिलाको बलात्कार पछि हत्या आशंका, शरिरको कपडा च्यातिएको अवस्थामा भेटियो

जनकपुरधामस्थित सिटी स्टार फेमिली होटलमा मृत भेटिएकी ३० वर्षीया खुश्बु सुनार नेपालीको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान तीब्र बनाएको छ । उनले लगाएको कपडा समेत च्यातिएको पाइएकाले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
होटल परिसरबाट प्रहरीले भारतीय नम्बर प्लेट बीआर ४३–१६३९ को मोटरसाइकल बरामद गरेको छ । सोमबार बेलुका खुश्बुसहित उनकी एक साथी र उनीहरूसँग दुई युवक होटलमा सँगै प्रवेश गरेको होटल सञ्चालक सन्तोष साहले प्रहरीलाई जानकारी दिएका छन् । तर, उनीहरूले छुट्टाछुट्टै कोठा लिएको जनाइएको छ । महिलाहरूले एउटा कोठा र पुरुषहरूले अर्को कोठा लिएको साहले जानकारी दिएका छन् ।
महिलाहरू बसेको १०१ नम्बर कोठामा बिहान खुश्बु अचेत अवस्थामा भेटिकी थिइन् । लगत्तै उनलाई जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो ।
पछि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटना लगतै फरार दुई युवकको खोजी तीब्र बनाएको छ ।
तर अहिलेसम्म उनीहरुको पत्तो लागेको छैन । आफूले थाहा भएसम्म दुवै केटाको विवरण पुलिसलाई दिएको होटल सञ्चालक साहले बताएका छन् ।
यही घटनापछि होटलका केही कर्मचारी पनि फरार भएको बताइएको छ । मृतक युवती धनुषाको महेन्द्रनगरस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । उनका छोरा र छोरी छन् ।