नवलपुर क्षेत्रमा रहेका गैडा सौराहातर्फ स्थानान्तरण गर्न शुरू

रामकुमार श्रेष्ठ –
नवलपरासी । चितवन निकुञ्ज अन्तर्गतको नवलपरासी क्षेत्रमा गैँडाको संख्या धेरै भएकाले भन्दै यहाँ रहेका गैडा शुक्रबारबाट पूर्वी चितवनमा स्थानान्तरण गरिएकाे छ ।
चितवन निकुञ्जले नवलपरासीमा गैँडाको संख्या बाक्लो देखिएका कारण संरक्षणमा टेवा पुर्याउन र चरिचरन र बासस्थानलाई समेत सघाउन सहयोग पुगोस भनेर चितवन निकुञ्जको पूर्वी सेक्टरमा लैजान लागेको जनाएको छ ।
चितवन निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार आज पहिलाे दिन कावासाेती २ र १ काे नवदुर्गा सामुदायिकमा रहेकाे एउटा गैँडा स्थानान्तरण गरिएकाे छ ।
गैँडा स्थानान्तरण कार्यका लागि चितवन निकुञ्जको नेतृत्वमा ६० जनाविज्ञ र सहयोगी समेतको टोली खटिएको छ । पहिलो पटकका ६ वटा गैडा स्थानान्तरण गरिने छ ।
तिवारीले भने – पश्चिम सेक्टरमा गैँडाको संख्या धेरै छ । एउटै थलोमा धेरै गैडा थुप्रिँदा बासस्थान, चरिचनको समस्या र प्रजनन क्षमतामा समेत कमी आउँछ । तुलनात्मकरुपमा पश्चिम सेक्टर (नवलपरासीबाट) मा धेरै गैँडा रहेको पाइएको छ ।
पछिल्लाे गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा गैडा रहेकाे छ । ती मध्य नवलपुर क्षेत्र अर्थात पश्चिम सेक्टरमा ४ सय ५० बढी गैडा रहेकाे तिवारीले बताए ।
पहिलो चरणमा पश्चिम सेक्टरका ६ वटा वयस्क गैंडा पूर्वी क्षेत्रमा लैजाने भएको हो । पूर्व र पश्चिम सेक्टरका गैँडामा क्रस गराएर प्रजनन क्षमतामा बृद्धि हुने भन्दै निकुञ्जले गैडा स्थानान्तरण गर्न लागेकाे हाे ।
पछिल्लो एक दशक यता चितवन निकुञ्जका गैँडा हेर्न आउने पर्यटकहरु चितवनमा भन्दा नवलपुरमा बाक्लिन थालेको छ ।
यता नवलपुर क्षेत्रका पर्यटन व्यवसायी र संरक्षणकर्मीले भने यस कार्यकाे निन्दा गरेकाे छ ।