आगलागीबाट मोरङमा २२ घर र भोजपुरमा ६ घर जलेर नष्ट

उर्लाबारी, ३ चैत । मोरङको रंगेली– ३ मा शनिबार दिउँसो भीषण आगलागी हुँदा २२ घर जलेर नष्ट भएको छ। रंगेली –३ बाबुसाहेवटोलमा रहेको सन्थाल बस्तीमा आगलागी भएको हो ।
दिउँसो अढाई बजेतिर सुरु भएको आगलागी नियन्त्रण्मा आउन साझसम्म लाग्यो । सन्थाल समुदायका बाक्ला घर भए ठाउँमा पश्चिमबाट हावा लागिरहेकोले आगो समयमा नियन्त्रण लिन समस्या भएको थियो ।
कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहहरैंचा नगरपालिका र विराटनगर महानगरका वारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको वडा अध्यक्ष भरत प्रसाईंले बताए । क्षति विवरण तयार नभएको वडाध्यक्ष प्रसाईंको भनाइ छ। मानवीय र पशु चौपायमा क्षति भएको छैन्।
आगलागीले ६ घर नष्ट
३ चैत, भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा आगलागी हुँदा ६ घर नष्ट भएका छन् । नजिकको वनमा सल्किएकोे आगो शनिबार दिउँसो बस्तीमा पसेको थियो ।
आगलागीबाट विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बसोबास नभएको एउटा पुरानो घर पनि जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जङ्गलबाट सुरू भएको आगलागी हावाहुरीका कारण बस्तीमा फैलिएको जानकारी गराए ।