दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, रोचक मोडमा गण्डकीको राजनीति

४ चैत, पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ ।
४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर अहिले सत्ता समीकरणका कारण गण्डकीमा सरकार बनाउने र टिकाउने खेल सुरु भएका बेला उनले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका हुन् ।
आइतबार मनाङेले आफूले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेशसभा सचिवालयमा पत्र दिएका छन् ।
मनाङबाट गण्डकी प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित राजीव गुरूङ ‘दीपक मनाङे’ ले स्वतन्त्र सांसदको हैसियत मागेका छन्।
स्वतन्त्र उम्मेदवार बनेर सर्वसम्मत बनेका मनाङे निर्वाचित भएपछि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका थिए।
‘एकीकृत समाजवादीमा प्रवेश गरेपछि त्यही दलको सदस्यका रुपमा संसदमा जानकारी आएको थियो र त्यहीरुपमा सूचीकृत गराइएको थियो । तर, अहिले उहाँले दल त्यागेर स्वतन्त्र नै रहेको जानकारी गराउनुभएको छ’, प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले भने ।
निर्वाचन आयोगले मनाङेलाई स्वतन्त्र सांसदको हैसियत दिएको उनले बताए। सांसद निर्वाचित भएपछि भने उनले नेकपा एकीकृत समाजवादी पार्टी सदस्यता लिएर सोही दलको सांसद बनेका थिए।
प्रदेशसभा सदस्य मनाङेले गण्डकीमा अप्ठेरो अवस्था देखिएकाले मध्यावधि चुनावमा जान सक्ने अवस्था रोक्न आफूले स्वतन्त्र रहने निर्णय गरेको बताएका छन् ।
२१ फागुनमा एमाले-कांग्रेससहितको गठबन्धन बनेपछि गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । कांग्रेसबाट निर्वाचित पाण्डेले २२ फागुनमै माओवादी केन्द्रका मन्त्री बर्खास्त गरे भने माओवादीले पनि समर्थन फिर्ता लिएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे छन् । यो स्थितिमा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन भने एमाले-माओवादीले पनि सरकार बनाउन सक्ने अवस्था छैन । सरकारलाई निरन्तरता दिन यहाँ काँग्रेसलाई ३१ सांसद आवश्यक पर्दछ ।
काँग्रेस २७, राप्रपा २, स्वतन्त्रण दिपक मनाङ्गे १ र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई मनाउन सके काँग्रेसलाई बहुमत पुग्ने देखिन्छ ।
गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ । तर, मनाङे पनि स्वतन्त्र बसिदिँदा अहिलेको सत्ता समीकरणको सजिलै सरकार बन्ने स्थिति नदेखिएको हो ।
कांग्रेस नेतृत्वको सरकार जोगाउन मनाङे र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई आफ्नो कित्तामा ल्याउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे क्रियाशील छन्। गोरखाबाट माओवादी चुनाव चिह्न लिएर चुनाव जितेका देवकोटा र मनाङे कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुँदा अहिले केन्द्रमा बनेको गठबन्धन अनुसार गण्डकीमा बहुमत पुग्दैन। अहिले भएको कांग्रेस नेतृत्वको सरकारको पनि बहुमत पुग्दैन।
माओवादी सांसदको रुपमा गणना भएका फणीन्द्र देवकोटा पनि नेपाल समाजवादी पार्टीका नेता हुन् । उनी माओवादी चुनाव चिह्नबाट निर्वाचित भएका थिए । उनलाई पनि नेपाल समाजवादी पार्टीको सांसद कायम गराइदिन अध्यक्ष बाबुराम भट्टराई निर्वाचन आयोगमा पत्र लेखेका छन् ।
संघीय सांसद महिन्द्र राय यादव, बागमतीका सांसद गंगानारायण श्रेष्ठले माओवादीसँग एकता गर्ने निर्णय गरे पनि फणीन्द्र भने अहिले पनि बाबुरामकै साथमा छन् ।
शनिबारमात्र काठमाडौंमा भएको कार्यक्रममा पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र बाबुरामबीच सत्ता समीकरणबारे पनि छलफल भएको थियो ।
२७ सांसदसहित कांग्रेस नेतृत्वमै सरकार कायम राख्न पाण्डेले राप्रपालाई पनि फकाइरहेका छन् । राप्रपाका २ सांसदसहित मनाङे र फणीन्द्र पनि पाण्डेकै पक्षमा उभिने स्थिति बनाउन मुख्यमन्त्री पाण्डेले कसरत गरिरहेका छन् ।
स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई मुख्यमन्त्री पाण्डे र गण्डकीका सभापति शुक्रराज शर्माले पनि गण्डकी प्रदेश सरकार कांग्रेसकै बनाउन सकिने बिफ्रिङ गरेका थिए ।
राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले अहिले सरकारमा नजाने पार्टीको नीति रहेको तर आवश्यकताका आधारमा सरकार निर्माणका क्रममा समर्थन गर्न सकिने बताएका छन् । राप्रपा सरकारमा नगए पनि गण्डकीमा मध्यावती रोक्न कुनै एकको सरकारलाई भने समर्थन दिने पक्षमा देखिएको छ ।