टी-२० मा १२ हजार रन बनाउने पहिलो भारतीय खेलाडी बने कोहली
इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु भएकै दिन भारतका स्टार ब्याटर विराट कोहलीले नयाँ इतिहास रचेका छन्। पहिलो दिन चेन्नईसँगको खेलमा बैंगलोर पराजित भएपनि ब्याटर विराट कोहलीले भने १२ हजार रनको कोसेढुंंगा पुरा गरे।
टी-२० का घरेलु, अन्तर्राष्ट्रिय तथा लिगमा बनाएको रनका आधारमा काेहलीले १२ हजार रन पुरा गरेका हुन्। उनी १२ हजार रन पुरा गर्ने विश्वका छैटौं ब्याटर बने। भारतका भने उनी पहिलो हुन्।
टी-२० मा सर्वाधिक रनको स्कोर भने वेस्ट इन्डिजका क्रिस गेलका नाममा रहेको छ। गेलले १४ हजार ५ सय ६२ रन बनाएका छन्। कोहली सर्वाधिक कम इनिङमा १२ हजार रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहे। उनले ३ सय ६० इनिङमा १२ हजार रन पुरा गरेका हुन्।
काेहलीअघि क्रिस गेलले सर्वाधिक चाँडो १२ हजार रन बनाएका थिए। गेलले ३ सय ४५ इनिङमा नै १२ हजार रनको आँकडा पुरा गरेका थिए।
१२ हजार रनको आंकडा पुरा गर्ने उनी पहिलो भारतीय खेलाडी बनेसँगै उनले चेन्नईका विरुद्ध आइपिएलमा एक हजार रन समेत पुरा गरे। उनीअघि चेन्नई विरुद्ध हजार रन बनाउने खेलाडी शिखर धवन मात्र रहेका थिए।
कोहलीले दिल्ली विरुद्ध पनि १ हजार रन बनाएका छन्। उनी आइपिएलका दुई टिम विरुद्ध १ हजार रन पुरा गर्ने दोस्रो खेलाडीसमेत बने। उनीअघि अस्ट्रेलियाका डेभिड वार्नरले पञ्जाव र कोलकाता विरुद्ध एक हजार रन पुरा गरेका छन्।
कुनै पनि आइपिएल टोली विरुद्ध अहिलेसम्म चार खेलाडीले मात्र एक हजार रन पुरा गरेका छन्।
डेभिड वार्नरले पञ्जाव र कोलकाता, शिखर धवनले चेन्नई, रोहित शर्माले कोलकाता र विराट कोहलीले दिल्ली र चेन्नई विरुद्ध एक हजार रन बनाएका हुन्।