करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु, करेन्ट लागेर घाइते नातीलाई बचाउन जाँदा हजुरबा र हजुरआमाले पनि ज्यान गुमाए

दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्युु भएको छ ।
आज (शनिबार) दिउँसो करिब सवा २ बजेतिर विद्युत्को तार चुडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका वडानम्बर ३ का ६० वर्षीय गाेरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाती कृष्णको मृत्युु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
घर अगाडि खेलिरहेका नातीलाई करेन्ट लागेपछि बचाउन गएका हजुरआमा र हजुरबुबालाई पनि करेन्ट लागेको थियो ।
करेन्ट लागेर तीनैजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार आज दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ।