छोराछोरीसँगै एसईई दिँदै बुटवलकी सुनिता

काठमाण्डौ – बुटवल उपमहानगरपालिका वडा नम्बर ११ पवित्रनगरकी सुनिता थापालाई यतिबेला भ्याइनभ्याइ छ । घरायसी र अरु कामले होइन, परीक्षाको तयारीले । उहाँ घरमा छोराछोरीसँगै पढ्नुहुन्छ र बिहान उनीहरुकै साथमा परीक्षा दिन निस्कनुहुन्छ । उहाँ र छोराछोरीको परीक्षा केन्द्र फरक–फरक छ । तीन घण्टाको परीक्षा सकेर घर फर्किने समय भने तीनैजनाको उस्तैउस्तै बेला हुन्छ ।
घर पुगेर परीक्षा कस्तो भयो भनेर समीक्षा हुन्छ । अनि खाना खाने समय हुन्छ । सुनिताले छोराछोरीलाई खाना पस्किएर दिनुहुन्छ । अनि आफूले खानुहुन्छ । खाना खाइसकेपछि फेरि शुरु हुन्छ अर्को दिनको परीक्षाको तयारी । अहिले यसरी नै ४८ वर्षीया सुनिता, उहाँका १७ वर्षीय छोरा सुशन र १६ वर्षीया छोरी समिक्षाको दैनिकी चलिरहेको छ । सुनिताको घरबाट आमा, छोरा र छोरी तीनजनाले एकैपटक एसईई दिने ऐतिहासिक मौका जुरेको छ ।
छोराछोरीसँगै बसेर पढ्न पाउँदा आफू पनि बच्चाझैं लागेको अनुभूति सुुनिता सुनाउनु हुन्छ । हुन त छोराछोरी र सुनिता पढ्ने स्कूल फरक फरक हो । तर घरमा परीक्षाको तयारी एकै ठाउँ बसेर गर्नु हुन्छ । उहाँ भन्नुहुन्छ ‘पढ्ने बेलामा पढ्न पाइएन, अहिले पढ्ने रहर पूरा गर्दैछु । छोराछोरीले पनि मैले नजानेको कुरा सिकाउँछन् । छोराछोरीसँगै यसरी पढ्न पाइएला भनेर मैले कहिल्यै पनि सोचेकी थिइनँ । म यसरी छोराछोरीसँग पढ्न पाउँने एक भाग्यमानी आमा हुँ, त्यसैले निकै खुशी छु ।’
पहिले घरको कमजोर आर्थिक अवस्थाका कारणले कक्षा ८ पढेपछि उहाँले पढाइलाई निरन्तरता दिन सक्नु भएन । पछि विवाह भयो । बालबच्चा भए । परिवारको जिम्मेवारी थपिदैैँ गयो । तर पढ्ने रहर भने सधै मनमा छँदै थियो ।
‘हामी बाबाआमाका पाँचजना सन्तान थियौं, बाबाले परिवार चलाउनका लागि भारतमा काम गर्नु हुन्थ्यो, घरको आर्थिक अवस्था कमजोर थियो, त्यतिबेला पढ्ने वातावरण भएन, विवाहपछि घरगृहस्थी सम्हाल्न व्यस्त भएँ, पढ्ने सपना अधुरो रह्यो’ उहाँले सम्झनुभयो । हक्की स्वभावकी सुनिता विवाहपछि पनि घरभित्रमात्रै सीमित रहनु भएन । उहाँले महिला स्वास्थ्य स्वयम्सेविका भएर काम गर्नु भएको छ । जब उहाँ घर बाहिरको काममा निस्कनु भयो, तब उहाँलाई पढाई नहुँदाको पीडाले पिरोलीरह्यो ।