बढायो पेट्रोलको मूल्य
नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । आइतबार रातिबाट लागू हुने गरी प्रतिलिटर चार रुपैयाँ मूल्य बढाइएको हो ।
अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् राखिएको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
निगमको सञ्चालक समितिले आइतबार दिउँसो इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट नयाँ खरिद मूल्य आउँदा पेट्रोलको मूल्य चार रुपैयाँ ७६ पैसा प्रतिलिटर बढेर आएको जनएको छ । त्यसैकारण बैठक बसेर मूल्य वृद्धि गरेको निगमको भनाइ छ ।
त्यस्तै, डिजेल ०.३९ रुपैयाँ र हवाइ इन्धन ०.३८ रुपैयाँ प्रतिलिटर घटेको तथा खाना पकाउने एलपी ग्यासको मूल्य २७.४४ रुपैयाँ प्रतिसिलिन्डर घटेको आएको निगमले जनाएको छ ।
उपत्यकामा डिजेल र मट्टितेलको मूल्य एक सय ५८ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ । आन्तरिक हवाइ इन्धन एक सय ३६ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाइ इन्धन १.०३५ डलर प्रतिलिटर तथा ग्यासको मूल्य एक हजार नौ सय १० रुपैयाँ प्रतिसिलिन्डर कायम छ ।
मूल्य घटे पनि ग्यास बिक्रीमा निगमलाई अझै प्रतिसिलिन्डर दुई सय ९६ रुपैयाँ १५ पैसा घाटा रहेकोले मूल्य यथावत् रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।