नवलपुरमा मिटरब्याजीः १० लाख लगानी गरेर ४३ लाख असुल, थप ३० लाखको तमसुक

कावासोती । नवलपुर प्रहरीले जिल्लामा मिटरब्याजको समस्या निक्कै जटिल र चुनौतीपूर्ण देखिएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक नरहरी रेग्मीले मिटरब्याजी र अनुचित लेनदेनको कारोवारीको जालो निक्कै फैलिएको भन्दै समस्या समाधानमा प्रहरी निर्मम भएर लागेको बताए ।
उनका अनुसार एउटै व्यक्तिले १० लाख लगानी गरेर ४३ लाख रुपैयाँ असुल गरी थप ३० लाखको तमसुक गरेको समेत भेटिएको छ । तर छलफलकै क्रममा रहेको भन्दै ती मिटरब्याजीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
यसरी कारोवार गर्दा पीडकले पैसा दिँदा बैंकमार्फत दिने र लिने बेलामा बैंकिङ कारोवारलाई निधेष गरी नगद कारोवार गर्ने गरेर प्रमाणमा आफूलाई बलियो बनाउने काम गरेको देखिएको प्रहरी उपरिक्षक रेग्मीले बताए । यसले गर्दा समस्या समाधानमा थप चुनौती थपिएको उनको भनाइ छ ।
प्रहरीले पीडक र पीडितलाई संगै राखेर मिलाउने काम गरेर मुद्धा मिल्ने अवस्थामा पुगेपछि पीडकहरु अनुसन्धानलाई अन्यत्रै मोड्न अदालत जाने गरेको प्रहरीले जनाएको छ । केही भने जिप्रकामा मिलापत्र गरेर गएपछि पनि अदालत गएर सहमतिलाई उल्टाउने काम गरिरहेका प्रहरीको भनाइ छ । मिटरब्याज तथा अनुचित लेनदेन विरुद्धको किसान मजदुर संघर्ष समितिका अनुसार ९ जना पीडकले अदालतमा मुद्धा हालेका छन् ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले पनि जिल्लामा अनुचित लेनदेनको समस्या जटिल देखिएको भन्दै दुबै पक्षलाई बोलाइ छलफल गराउन प्रहरीलाई निर्देशन दिएको बताएकी छिन् । नवलपुर प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनसम्बन्धि ३१ वटा निवेदन परेकोमा ८ वटामा मिलापत्र गराएको छ भने २३ वटा बाँकी छन् । जसमध्ये ३ जना अदालत गएका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयमा अनुचित लेनदेनसम्बन्धि १२ वटा निवेदन परेकोमा ८ वटा मिलापत्र गराएको प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए । कतिपयले आन्तरिक रुपमै मिलापत्र गराएको उनको भनाइ छ ।
यस्तै मिटरब्याज विरुद्धको संघर्ष समितिमा ४२ वटा उजुरी परेकोमा १७ वटामा मिलापत्र भएको र ८ वटा निवेदनमाथि छलफल चलिरहेको संघर्ष समितिकी उपाध्यक्ष शारदा पौडेलले जानकारी दिइन् ।
प्रहरी उपरिक्षक रेग्मीका अनुसार धेरैजसो वास्तविक मिटरब्याज पीडित छन् । तर केही भने पीडित र पीडक दुबै रहेका छन् । जसले एउटाबाट लिएर अर्कोलाई झन चर्को मिटरब्याजमै लगाउने गरेका छन् ।
‘एउटै पीडकले धेरैलाई लगानी गरेको पाइयो, गहिरिएर अनुसन्धान सुरु गरेका छौं, प्रहरी उपरिक्षक रेग्मीले भने, ‘अनुसन्धानमा पनि पटक पटक अवरोध गर्ने प्रयास भइरहेको छ । अनुसन्धान भइरहेको बेलामा मुद्धालाई कमजोर बनाउने प्रयास पनि नभएको होइन । कतिपय व्यक्तिको केसमा त राजनीतिक दबाब पनि आउने गरेको छ ।’
पीडकले पीडितसँग जर्वजस्ती कागज गराउने र वडामा लगेर प्रमाणित गर्ने गरे पनि पीडित भने वडासम्म पनि नपुगेका उदाहरणहरु भेटिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयमा दिनहुँजसो विभिन्न समूहमा छलफल चलिरहेको छ ।
https://www.youtube.com/watch?v=jKN6mIgFip0