नवलपुरमा भिषण आगलागीः जंगलको आगो गाउँपस्दा दुई गाउँका १२ घरगोठ जले, १ जना घाइते
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १४ चनौटे र सुर्खा गाउँमा भिषण आगलागी भएको छ ।
मध्यविन्दु १४ को सुर्खा जंगलमा अचानक भएको आगो आज दिउँसो २ बजेदेखि गाउँमा पसेको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार आगलागीबाट चनौटेका ७ र सुर्खाका ५ घरगोठ जलेर नष्ट भएको छ ।
आगो निभाउने क्रममा मध्यविन्दु १४ चनौटेमा रहेको जनज्योति प्राविका शिक्षक देवचुली १३ प्रगतिनगर निवासी ५९ बर्षीय गंगाप्रसाद घिमिरे घाइते भएका छन् । उनको दुवै हात जलेको र अवस्था समान्य रहेको प्रहरीले जनाएकोछ ।
आगो स्थानीय बासिन्दा, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले साँझ साढे ७ बजेतिर नियन्त्रणमा लिएको थियो ।
आगलागीमा परी मध्यविन्दु १४ का नवलसिंह ढेंगाको घरगोठ, लत्ताकपडा, भाडावर्तन र नगद १ लाख ६० हजार, भोगीराम ढेंगाको घरगोठ, लत्ताकपडा, भाडावर्तन, ४ वटा कुखुरा, टेकबहादुर क्षेत्रीको घरगोठ, लत्ताकपडा भाडा वर्तन, ३ वटा बाख्रा, कर्मसिंह सोमैको घरगोठ लत्ताकपडा, भाडावर्तन पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
त्यसैगरी खमबहादुर बारघरेको बाख्राको गोठ, लत्ताकपडा अन्नपात, हस्तबहादुर ढेंगाको बाख्रा गोठ, लत्ताकपडा अन्नपात र श्रीलाल सोमैको बाख्रागोठ लत्ताकपडा अन्नपात पूर्णरुपमा जलेर नष्ट भएको छ ।
त्यसैगरी मध्यविन्दु १४ सुर्खामा टेकबहादुर सोमै मगरको गोठ, लत्ताकपडा, कमानसिंह सोमै मगरको गाइगोरुको गोठ, लत्ताकपडाअन्नपात, थेबेल सिसंह लम्कामगरको गाईबाख्राको गोठ, गोरु एउटा, बाख्रा ३ वटा, भैसी १ वटा, रणबहादुर सोतीको गोठ र आइतसिंह सोमैको गोठ जलेर नष्ट भएको छ ।
नवलपुरमा पछिल्लो समय सामुदायिक वन, सरकारी वन र मध्यवर्ती वनमा व्यापक डढेलो लागेको छ ।








