हुप्सेकोटका किसानलाई कृषि सामाग्री अनुदान, बजार व्यवस्थित गर्न कृषकको माग





प्रिय धन—
नवलपुर, १३ बैशाख –
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कृषकहरुलाई कृषि सामाग्री अनुदानमा वितरण गरिएको छ ।

कृषि ज्ञान केन्द्र नवलपुरको योजना अनुसार करिब दश लाख असी हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको हो ।


आज बिहिबार ज्योति कृषक समुह हुप्सेकोट ३ समूहमा आवद्ध रहेका ८० जना कृषकलाई सामाग्री वितरण गरिएको ज्योति कृषक कृषि समूहका अध्यक्ष थमन रजाली मगरले जानकारी दिए ।

आधुनिक कृषि प्रणाली अपनाउनु पर्ने भन्दै सो समूहका कृषकहरुलाई मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, हाते ट्रयाक्टर, स्प्रे ट्यांकी, त्रिपाल, मकै गोड्ने मेसिन , १८÷० मिटर कुलो निर्माण गर्ने जस्ता करिब १० प्रकारका सामाग्रीहरु वितरण गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारीले बताए ।

कृषक यदुनाथ पाण्डेले सामाग्री वितरण गरेर मात्र नहुने भन्दै उत्पादन हुने मौसमी तरकारीको बजार भाउ र बजार स्थान तय नहुँदा कृषकले दुःख पाएको बताए ।

यस्तै कृषक पूर्ण प्रकाश बिकले कृषकलाई उत्साहित बनाउन सामाग्री वितरण गरि कृषकका वास्तविक समस्या सिंचाई र बजार व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने उल्लेख गरे ।

बलियो बाँध निर्माण , बोरिंग आदिको विषयमा सम्बन्धित निकाय मौन रहनु दुखद भएको उनको भनाइ थियो ।

जवाफमा प्रमुख अतिथि रहनुभएका हुप्सेकोट ३ वडा अध्यक्ष विष्णु रानाले कृषकका गुनासोहरु गाउँपालिका कृषि शाखामा पेश गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कृषि प्रसार अधिकृत विश्वास काफ्ले , वडाका जनप्रतिनिधिहरु , ज्योति कृषक समुह हुप्सेकोटका कृषकहरु आदि सहभागी भएका थिए ।




सम्बन्धित
Loading...