खोइ मेरो माछा मार्ने लाइसेन्स ?




चितवन राष्ट्रिय निकुञ्ज कसराले नवलपुरमा बसेर नारायणी र राप्ती नदीमा माछा मारेर जीविकोपार्जन गर्ने बोटे, माझी, मुसहर लगायतका समुदायलाई थप इजाजतपत्र (माछा मार्ने लाइसेन्स) दिन नसक्ने जनाएको छ ।

नदीमा माछा मार्नका लागि थप इजाजत पत्र दिंदा नारायणी र राप्ती नदीमा माछाको संख्या घट्न गरी गोहीको आहारमा संकट आउन सक्ने भन्दै नयाँ लाइसेन्स दिन नसकिने बताएको हो ।




माछा मार्ने लाइसेन्स बर्षौदेखि नविकरण हुन नसकेकाहरुको माछा मार्ने लाइसेन्स नविकरण र नयाँ इजाजत पनि पाउनु पर्ने माग गर्दै बोटे माझी मुहसर कल्याण सेवा समिति नवलपुरको चितवन राष्ट्रिय निकुञ्ज पुगेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ मा परम्परागत रुपमा माछा मार्र्दै आएका बोटे, माझी, मुसहर, थारु, कुमाल, दराइ लगायत समुदायले माछा मार्न पाउने र त्यसका लागि निकुञ्जले इजाजत पत्र दिइनु पर्ने उल्लेख गरिएको छ । तथापि निकुञ्जले भने बर्षेनी माछा मार्ने लाइसेन्स नविकरणमा आलटाल गर्दै इजाजत पत्र लिनेको संख्या कटाउँदै गएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अहिले चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणीमा गरी करिब ३ सय जनाको माछा मार्ने इजाजत पत्र नविकरण रहेको र अन्य वैकल्पिक पेशामा लागेर १ बर्ष नविकरण नगरेकाहरुको निकुञ्जले इजाजत नविकरण नगर्ने गरेको बताए ।

तर बोटे, माझी, मुसहर समुदायले भने आफूहरु नदीमै आश्रित समुदाय भएकोले अन्य वैकल्पिक पेशा अपनाउन नसकेका घरपरिवारको लाइसेन्स नविकरण हुनु पर्ने र त्यस्ता परिवारले नयाँ इजाजत पत्र पनि पाउनु पर्ने माग गरेको छ । कतिपय अवस्थामा निकुञ्जका कर्मचारीहरुले समयमै इजाजत पत्र नविकरण गर्न जाँदा पनि नविकरण नगरेर दुःख दिएको बोटे माझी मुहसर कल्याण सेवा समिति नवलपुरका अध्यक्ष सुकाराम माझीले बताए ।

निकुञ्जले परम्परागत पेशाको सट्टामा वैकल्पिक व्यवसाय अवलम्बन गर्न ती समुदायलाई आग्रह गरेको छ ।

बोटे माझी, मुहसर कल्याण सेवा समिति नवलपुरका सचिव ज्ञान बहादुर बोटेले आफ्नो समुदाय वैकल्पिक पेशा अवलम्बन गर्न चाहेको भए पनि स्थानीय सरकार, मध्यवर्ती सामुदायिक वन लगायतका सम्बन्धित निकायले यसतर्फ ध्यान नदिएको बताए ।

बर्षौ देखि नारायणी नदीमै माछा मार्दै जीविकोपार्जन गर्दै आएका र अन्य वैकल्पिक पेशा अपनाउन नसकेको घर परिवारलाई परम्परागत पेशाबाट विमुख गर्ने काम निकुञ्जले गरेको यो समुदायको ठहर छ । यो समुदाय बर्षमा २÷३ पटक चितवन राष्ट्रिय निकुञ्जमा माछा मार्ने इजाजत पत्र वितरण र नविकरणको मुद्दा लिएर जाने गरे पनि निकुञ्जका कर्मचारीहरुले खासै चासो दिने गर्र्दैनन् ।

आफूहरूलाई माछा मार्नका लागि नयाँ लाइसेन्स थप गर्नुपर्ने र पुरानालाई नवीकरण गर्नुपर्नेलगायत १० बुँदे माग राखेर ज्ञापनपत्र बुझाउन कसरा पुगेको माझी, मुसहर, बोटे कल्याण सेवा समिति नवलपुरको टोलीसँग निकुञ्जले यस्तो आग्रह गरेको हो ।

ज्ञापनपत्र बुझेपछि निकुञ्जका सहायक संरक्षण अधिकृत अविनाश थापाले भावी पुस्तालाई वैकल्पिक व्यवसायमा संलग्न गराए मात्र नदीमा आश्रित हुन नपर्ने भएकाले त्यतातिर सोच्न आग्रह गरे ।

सहायक संरक्षण अधिकृत थापाले भने – “नदीमा बढिरहेको चाप, जङ्गली जनावरसँगको द्वन्द्वलगायतका कारणले पनि तपाईंहरूले वैकल्पिक व्यवसाय रोज्नु उपयुक्त हुन्छ । त्यसका लागि निकुञ्जले के गर्नु पर्छ हामी तयार छौँ ।” उनलेले नयाँ इजाजत पत्र दिनु निकै चुनौतीपूर्ण र संवेदनशील विषय हुने बताए ।

पृथ्वीमा डाइनोसरपछि अति सङ्कटापन्न अवस्थामा अस्तित्वमा रहेको घडियाल गोही चितवनको राप्ती र नारायणी नदीमा मात्र पाइने र त्यसले माछा मात्र खाएर बाँच्ने भएकोले घडियाल गोहीलाई बचाइराख्न नारायणी र राप्ती नदीमा माछा जोगाइराख्नु आवश्यक रहेको थापाको भनाइ थियो ।

प्रकृतिमा यसको बाँच्ने दर एक प्रतिशतभन्दा पनि कम छ । जसले ताजा माछाबाहेक अरू खाँदैन,” उनले भने, “हामीले घडियाल गोहीको पनि संरक्षण गर्नुपर्ने छ । अनि संरक्षणमा असर नपर्ने गरी हाम्रो जीविकोपार्जनलाई पनि व्यवस्थित गर्नुपर्ने काम छ । जुन निकै चुनौतीपूर्ण छ ।”

यहाँका नदीमा आश्रित समुदायले इजाजत्र पत्र भए पनि नविकरण नहुँदा माछा मार्न गएकै कारण सेनाले धरपकड गर्ने, कुटपिट गर्ने, पक्राउ गरेर कारवाही अगाडि बढाउने, सेनासँग डराएर भाग्दा गोलीसम्म हान्ने गरेको गुनासो गर्दै आएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार नवलपुरमा रहेका ३ सय बढी बोटे, माझी, मुसहर समुदायसँग माछा मार्ने इजाजत भएकोमा नवलपुरमा अहिले यि समुदायको करिब १ सयको हाराहारीमा मात्र इजाजत पत्र नविकरण भएको बोटे समाज नवलपुरका अध्यक्ष राजेन्द्र बोटेले बताए ।

मध्यविन्दु नगरपालिका भित्र रहेका बोटे, माझी, मुसहर समुदाय ५ बर्ष अगाडि इजाजत पत्र नविकरण गर्न जाँदा करिब ४२ जनाको इजाजत पत्र लाइसेन्स निकुञ्जका मुख्य संरक्षक अधिकृत लगायतका कर्मचारीहरुले व्यस्तताको कारण देखाइ पछि नविकरण गर्दिन्छु भनेर निकुञ्जमै राखेको इजाजत पत्र लाइसेन्स अहिलेसम्म नविकरण पनि नगरिदिएको र पुरानो लाइसेन्स पनि निकुञ्जले नै राखेको बोटेले बताए ।



सम्बन्धित
Loading...