नारायणीमा बन्ने भयो सिग्नेचर पुल : प्रधानमन्त्री ‘प्रचण्ड’बाट शिलान्यास आज

भरतपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका जोड्ने नारायणी पुलको आडैमा नयाँ सिग्नेचर पुल बन्ने भएको छ ।
नारायणी नदीमाथि बन्ने नेपालकै पहिलो सिग्नेचर पुलको आज सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दै छन्, जसका लागि आइतबार नै उनी चितवन आइसकेका छन् । शिलान्यासमा सहभागी हुन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चितवन आउने कार्यक्रम छ ।
नयाँ बनाउन लागिएको पुल ‘केबल स्टे एक्स्ट्रा डोज्ड ब्रिज’ हो । यसैलाई सिग्नेचर पुल भनिने सडक विभाग, पुल महाशाखा प्रमुख इन्जिनियर ललिजन खनालले बताए । सडक विभागको पुल महाशाखाका डिभिजनल इन्जिनियर एवं यस पुलको योजना प्रमुख कृष्ण अधिकारीका अनुसार पुल चार सय २० मिटर लामो हुनेछ । जम्मा चारवटा पिल्लर रहने यस पुलको मुनिबाट ठूला पानीजहाज आवतजावत गर्न मिल्ने गरी बनाइएको छ । उनले भने, “पुलको बीचमा दुई पिल्लरबीचको भाग दुई सय १० मिटर फराकिलो छ । यहाँबाट जहाज आवतजावत गर्न सक्छन् ।”
पुल महाशाखाका सिनियर डिभिजन इन्जिनियर कृष्णराज अधिकारीले पुल निर्माणको जिम्मा तुँदी कन्स्ट्रक्सनले पाएको जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीसँग २०८० जेठ १९ गते नै सम्झौता भएको हो । त्यसपछि पुलको डिजाइन बनाउने काम भएको उनले बताए । पुलको डिजाइन अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
सन् २०२३ जुन २ मा तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ । मूल्यअभिवृद्धि करसहित रू एक अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ मा ठेक्का सम्झौता भएको हो । पहिलो एक वर्ष डिजाइन समय हो भने बाँकी तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको अधिकारीले जानकारी दिए । डिजाइनको काम करिब सम्पन्न भएको छ ।
‘डिजाइन लगभग अन्तिम चरणमा पुगेको छ । डिजाइन स्वीकृत हुनेबित्तिकै काम सुरू हुन्छ’, उनले भने । सम्झौता भएको मितिबाट चार वर्षभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने उनले जानकारी दिए । दुई लेनको पुलको दुवै साइडमा फुटपाथ हुने छ । डिजाइन तयार हुनै एक वर्ष लाग्ने पूर्वानुमान थियो । पुल शिलान्यास भएको मितिले तीन वर्षभित्र निर्माण सम्पन्न हुुनुपर्ने छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सात वर्षअघि आफू पहिलोपटक महानगर प्रमुखको उमेदवार हुँदा घोषणापत्रमा उल्लेख गरेर निरन्तर पहलकदमीपछि पुल निर्माण हुने अवस्थामा पुगेको बताइन् । महानगरले हरेक वर्षको नीति तथा कार्यक्रममा नारायणी नदीमा ‘सिग्नेचर’ पुल निर्माणका लागि पहल गर्ने उल्लेख गर्दै आएको भन्दै उनले यो नमुना ‘सिग्नेचर’ पुल भएको पनि स्पष्ट गरिन् ।
समयमा पुल निर्माण गर्न नसकेमा दीर्घकालीनरुपमा समस्या हुनसक्ने भएकाले आफूहरु निरन्तर लागेको उनको भनाइ छ । नारायणी नदीमा जलसँग सम्बन्धित पर्यटकीय गतिविधि गर्नका लागि पुलको डिजाइन नै तलको भाग फराकिलो बनाइएको भन्दै उनले नयाँ पुल बनेसँगै भरतपुरको विकासमा थप टेवा पुग्ने बताइन् ।
निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मञ्जिल मिश्रले तोकिएको समयमा गुणस्तरीय काम गर्न आफूहरु प्रतिबद्ध भएर सोहीअनुसार तयारी गरिएको बताए । भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकाले आवश्यक सहजीकरण गरेका कारण कामलाई गति दिन सहज हुँदै आएको बताए ।
हाल भएको नारायणीको पुल विसं २०३८ मा बनेको हो । यो पुलमा १४ वटा पिल्लर छन् । भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको नारायणी नदीको हालको पुल पुरानो र साँघुरो छ । यसैसँग जोडेर उत्तरतर्फ नयाँ पुल निर्माण गर्न लागिएको हो ।
२०३५ सालतिर भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको नारायणी नदीको हालको पुल पुरानो र साँघुरो भएको छ । हाल सञ्चालनमा रहेको पुलको लम्बाइ पनि ४२० मिटर रहेको छ । दुई लेनको यो पुलमा पनि दुवै साइडमा फुटपाथ छ । सरकारले नारायणगढ–बुटवल सडक र पुलचोक–गोन्द्राङ सडक विस्तार गर्दै छ ।
#नारायणी नदीको मौजुदा पुल । सोही पुलको उत्तरपट्टि नयाँ बन्ने पुलको शिलान्यास गरिने छ ।