काठमाडौंमा चोरी गर्ने गिरोह पक्राउ

काठमाडौं उपत्यकामा चोरी गर्ने पेसेवर गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने रामेछाप दोरम्बा गापा–४, गौसराका ३७ वर्षीय कमल थापामगर र ३५ वर्षीय धनलाल थापामगर रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले गत ९ वैशाखमा ललितपुर मनपा–२१, खोकनाका नवराज गुरुङको घरबाट सुनका विभिन्न गहना चोरी गरी फरार भएका थिए । पक्राउमध्ये कमललाई प्रहरीले रामेछापको दोरम्बा र धनलाललाई भैँसेपाटीबाट पक्राउ गरेको हो । उनीहरूले गुरुङको घरबाट सुनको सिक्री, क्रिस्टल, रानीहार, पेन्डल, चन्द्रहार, लकेट, पाँचगेडी, चन्द्रमा, तिलहरी, झुम्का, टपलगायत सामग्री चोरी गरेका थिए ।
प्रहरीका अनुसार उनीहरूका चोरीका गहना सिन्धुपाल्चोक मेलम्ची नपा–६, बतासेका २८ वर्षीय सुवास सुनार, कागेश्वरी मनोहरा नपा–६, मूलपानीका ४१ वर्षीय रेशम विक, टोखा नपा–३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरी सुरुंगा नपा–२ का २२ वर्षीय मोहम्मद समीरलाई लगेर बिक्री गरेका थिए ।
प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउमध्ये कमल र धनलाल पेसेवर चोर हुन् । उनीहरू यसअघि पनि चोरीमा संलग्न थिए ।