पुजार सार्की र फर्कीको सिनेमा हलमा प्रतिस्पर्धा




नेपालमा प्राय शुक्रबार नेपाली चलचित्र रिलिज हुन्छ । तर बुद्ध जयन्तीको अबसर पारेर यसपटक एक दिन अघि अर्थात बिहिबार नै दुई चलचित्र एकसाथ रिलिज गरिएको छ । स्टार कास्ट जोडिएका दुई नेपाली चलचित्र पुजार सार्की र फर्की फर्की एकसाथ बिहिबारबाट चलचित्र घरमा आएका हुन् । यी दुई चलचित्रबीच राम्रो प्रतिस्पर्धा हुने भएको छ । दुबै चलचित्रले देशभरका सिनेमा हलमा आधा आधाको सँख्यामा शो पाएका छन् ।

प्रदर्शन अघि चलचित्र पुजार सार्कीले यसपटक सञ्चारकर्मी र सिनेकर्मीको सट्टा केही दर्शकलाई गोलाप्रथाबाट बोलाएर बुधबार बेलुका प्रिमियर ग¥यो । यता फर्की फर्कीले भने बिहिबार बेलुका काठमाडौंको बिग मूभिजमा प्रिमियर गरेको छ ।



चलचित्र पुजार सार्की सामाजिक कथाबस्तु आधारित चलचित्र हो । यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । जसमा उनले अहिले चर्चामा रहेको तीन अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई समेटेका छन् । यी तीन अभिनेता एकसाथ एउटै चलचित्रमा समेटिएका कारण पनि पुजार सार्कीप्रति दर्शकको विशेष चासो छ । २०४६ सालमा नेपाली जनताले बहुदलीय प्रजातन्त्रका लागि आन्दोलन गरिरहेको बेला दलित समुदायले जातीय विभेद र आफुहरुको उन्मुक्तिका लागि गरेको आन्दोलनको कथा यो चलचित्रमा समेटिएको छ । माथिल्लो जातका पुरुषले दलित समुदायका महिलासँग विवाह गर्दा त्यो पुरुषको पनि जात घटुवा हुने र उ दलितमा झर्ने कुप्रथालाई यो चलचित्रको मुख्य कथा बनाईएको छ ।

यो चलचित्रको अन्य कलाकारमा अभिनेत्रीद्धय अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायत छन् ।

चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् भने संगीतकार पनि उनी स्वयम हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको डिओपी रहेको पुजार सार्कीलाई भरत रेग्मीले सम्पादन, सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

बिहिबारबाटै रिलिज भएको अर्को चलचित्र फर्की फर्कीमा शिर्ष भूमिकामा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ छन् । यो सिनेमाले देशभरका सिनेमा हलमा करिब दुई सय आसपासमा शो पाएको यसका निर्माता रोहित अधिकारीले बताए ।

चलचित्रका अभिनेता अनमोल केसीले यो चलचित्रमा आफु ‘मोडर्न इरा’को एक अलौकिक पात्रको रुपमा प्रस्तुत हुन लागेको बताएका छन् । टाईम लुप सुत्रमा निर्माण भएको चलचित्रले ‘टाईम ट्राभल’को कथा उठाएको पनि अनमोलले बताए । उनका अनुसार यो फ्यान्ट्यासी जनरामा निर्माण भएको चलचित्र हो । जुन दर्शकलाई नयाँ स्वाद लाग्नेछ ।

यो चलचित्रमा सुयोग गुरुङले लेखन तथा निर्देशन रहेको छ । उनी चलचित्र सानो मनबाट नेपाली चलचित्र निर्देशनमा आएका हुन् । यो चलचित्रमा अनमोल र जसितासँगै कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याललगायतको मुख्य भूमिका छ । यो चलचित्रमा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा रहेको निर्माण पक्षले जनाएको छ ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्र फर्की फर्कीका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । यसको सह–निर्मातामा मनोज ओली र रामु न्यौपाने छन भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माता हुन् ।

यो चलचित्र नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ । शंकर पाण्डे यसका प्रोडक्सन म्यानेजर हुन् । यो चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।


सम्बन्धित
Loading...