नवलपुरमा स्कुल भ्यानमा अचानक आगलागी, चालक घाइते

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोती ५ मा रहेको लर्डबुद्ध बोर्डिङ स्कूलको स्कुल भ्यानमा आज दिउँसो अचानक आगलागी भएको छ ।
दिउँसो सवा ३ बजेतिर लर्डबुद्ध स्कूलको बा ७ च ५९९३ नम्बरको भ्यानमा अचानक आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बाटोमा सुकाइ राखेको पराल भ्यानको टायरमा अड्कन गई घर्षण हुनु र भ्यानको इन्जिन तात्नु एकैसाथ भएका कारण आगलागी भएको हो ।
मन्टेश्वरीमा अध्ययनरत १२ जना विद्यार्थीलाई छाडेर फर्कने क्रममा कावासोती ३ अठ्ठाइस विगाहाको भित्री सडक खण्डमा भ्यानमा आगलागी भएको हो ।
आगो निभाउन क्रममा भ्यान चालक कावासोती १० मगरकोट निवासी २८ बर्षीय रोहित महतो घाइते भएका छन् । उनको दुवै हात जलेको र स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
स्कुल भ्यान आगलागीबाट पूर्ण रुपमा नष्ट भएको र करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।