अमेरिकाबाट मगाएको वासिङ मेसिनभित्र २० किलो गाँजा


 


काठमाडौं। ४ चैत २०८० मा कतार एअरलाइन्समार्फत अमेरिकादेखि एउटा वासिङ मेसिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्छ । विमानस्थल भन्सारको कार्गो कम्प्लेक्सको आयाततर्फको गोदाममा उक्त मेसिन राखिन्छ ।

भन्सारका कर्मचारीले शंकास्पद देखेपछि वासिङ मेसिन खोलेर हेर्दा फल्स बटन बनाएर २० किलो गाँजा लुकाएको फेला पर्छ । गाँजा भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले लागु औषध नियन्त्रण ब्यूरोको टोलीलाई खबर गर्छ ।



ब्यूरोको टोलीले वासिङ मेसिन मगाउने कम्पनी सुशान्त इम्पेक्सका सञ्चालक सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ घर भई काठमाडौं बस्दै आएका ३९ वर्षीय सुखल राउत र उनकी श्रीमती ३५ वर्षीया शान्ति तामाङलाई पक्राउ गरेको छ ।

उनीहरुविरुद्ध लागु औषधसम्बन्धी कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंबाट मुद्दा दायर गरेको छ । १० किलो भन्दा बढी गाँजा ओसारपसार गरेको भन्दै उनीहरुविरुद्ध दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना माग गरिएको छ ।

सुखल दम्पतीले करिब २ वर्षअघि सुशान्त इम्पेक्स नामक दर्ता गरेर विदेश सामान पठाउने काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर पक्राउ परेका दम्पतीले उक्त गाँजा आफूहरुले नमगाएको दाबी गरेका छन् । गत २ चैत २०८० मा सुखलसँग चिनजान भएका विशाल जैसवालले आफूहरुको कम्पनीमार्फत वासिङ मेसिन मगाएको र त्यसभित्र गाँजा भेटिएको भनाइ सुखल दम्पतीको छ ।

सबै खर्च ब्यहोर्ने भन्दै विशालले अर्डर गरेपछि वासिङ मेसिन अमेरिकाबाट आफूहरुको कम्पनीको नाममा आएको उनीहरुको भनाइ छ । नार्थन आर मिचेलीको नाममा अमेरिकामा रहेको किस बैंकको खाता मार्फत रकम भुक्तानी गरेर वासिङ मेसिन खरिद गरेर पठाइएको अनुसन्धानबाट खुलेको छ ।

उक्त वासिङ मेसिन मगाउने व्यक्तिले सुरुमै १ लाख ५५ हजार शान्तिको प्रभु बैंकको खातामा जम्मा गरेको प्रहरीले भेटेको छ । सोही रकमबाट भन्सार शुल्क वापत भन्सार एजेन्ट सागर अर्यालको खातामा रकम हालिएको दम्पतीको बयान छ ।


सम्बन्धित
Loading...