पहिरोमा परी एकै घरका चार जनाको मृत्यु




ताप्लेजुङमा लगातार वर्षापछि आएको पहिरोले घर पुरिँदा फाक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको परिवारका चार सदस्यको मृत्यु भएको छ।

गए राति गएको पहिरोले पुरिएर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बुका बाबु, आमा र दुई बहिनीहरुको मृत्यु भएको हो ।




फक्ताङलुङ–२ खेजेनिममा राती घर माथिबाट पहिरो खस्दा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

७१ वर्षीय राम बहादुर साम्रा, उनकी श्रीमति जसमाया लिबाङ साम्रा र जुम्ल्याहा छोरीहरू १२ वर्षीया गंगा साब्रा र जमुना साम्राको मृत्यु भएको हो । जसमाया साम्रा गाउँपालिका उपाध्यक्ष रविनकी आमा हुन्।

घटनास्थलमा प्रहरी पुगेर क्षतिको विवरण संकलन गरिरहेको प्रनाउ रावलले बताए ।

गाउँपालिका अध्यक्ष राजन लिम्बुका अनुसार राती करिव २ बजेतिर घरमाथिबाट ठुलो पहिरो खसेर उनीहरूलाई पुरेको हो । पहिरोले उनीहरूको घरसँगै रहेको खोरमा रहेका ५० वटा बाख्रा र ३० वटा कुखुरा समेत पुरेर मरेको छ ।

पहिरोले अन्य दुई वटा घरहरू समेत पूर्ण रुपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको उनले जानकारी दिए । पहिरोले घर पुरिँदा ४० वर्षीय युगेन साम्रा र उनकी २ वर्षीया छोरी घाइते भएका छन् ।

बुधबार रातिमात्रै ताप्लेजुङकै सिसेवा र सिस्ने खोलामा आएको बाढीले त्यस क्षेत्रमा चारवटा अस्थायी पुल बगाउँदा यातायात अवरुद्ध भएको थियो ।

‘पालिकाका अधिकांश घरहरू जोखिममा छ, हामीले सतर्क हुन त भनेका छौं,’ अध्यक्ष लिम्बूले भने।



सम्बन्धित
Loading...