३ जना मजदुर मृत्यु घटनामा १० बुदे सहमति, दोषीलाई कारवाहीको दायरामा नल्याएको भन्दै प्रदर्शनकारी असन्तुष्ट




रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा नाला निर्माणको क्रममा पुरिएर मजदुरको मृत्यु भएको घटनालाई लिएर शुक्रबार कावासोती तनाब ग्रस्त भएको छ ।

प्रहरी र स्थानीयबीच झडप भएको छ । प्रदर्शनकारी र प्रहरी बीच पटक पटक झडप भएको थियो भने प्रहरीले स्थितिले नियन्त्रणमा लिन अहिलेसम्म ४५ राउण्ड बढी अश्रँुग्याँस प्रहार गरेको छ । प्रहरीले प्रहार गरेको अश्रुग्याँस मध्ये १ तिहार अश्रुग्याँसले मात्र काम गरेको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार अहिलेसम्म ४५ राउण्ड बढी अश्रुग्याँस प्रहार भएको छ । प्रदर्शनकारीको आक्रमणमा परी ४ जना प्रहरी घाइते भएको उनले बताए ।

त्यसैगरी प्रदर्शनकारीको आक्रमणबाट पत्रकार कल्पना कुँवर, स्थानीय संजय श्रेष्ठ पनि घाइते भएका छन् ।

त्यसैगरी प्रदर्शनकारीले कावासोती नगरपालिका, नगर प्रमुख विष्णु प्रसाद भुसाल र स्थानीय व्यवसायी संजय श्रेष्ठको घर, केही व्यवसायीका सदरहरु तोडफोड गरेका छन् । क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।

यसैबीच नगरपालिकामा पीडित पक्ष, सरोकारवाला र नगरपालिकाबीच भएको छलफलमा १० बुदे सहमति भएको छ । मृतकका बालबालिकाको नाममा ५ लाखको मुद्दति खाता खोलिदिने, ५ लाख राहत स्वरुप उपलब्ध गराउने, कृयाखर्चका लागि तत्काल ५० हजार उपलब्ध गराउने, शव व्यवस्थापनका लागि लाग्ने खर्च नगरपालिकाले उलब्ध गराउन लगायतका सहमति भएका छन् ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगरपालिकाले निर्माण गर्दै गरेको नालामा पुरिएर ३ जना मजदुरका निधन भएको थियो । सोही घटनालाई लिए स्थानीय बासिन्दा, मृतकका परिवार र आफन्तले शुक्रबार कावासोतीमा प्रदर्शन गरेका हुन् ।

ज्यान गुमाउने ३ जना नै महिला रहेका छन् । उनीहरु सबै नालामा काम गर्दै गरेका मजदुरहरु हुन् ।

पौडेलले निर्माणाधिन नाला (ढल) निकासीको लागि हेमपाइप राख्ने क्रममा कावासोती ३ फलफूल चोकमा २० फिट नालामा काम गर्ने क्रममा अचानक सोही ठाउँमा खनि जम्मा पारेको माटोको ढिस्को खसेर पुरिएको थियो ।

प्रहरीका अनुसार ढिस्कोले पुरिएर कावासोती ५ लक्ष्मीनगर निवासी ५१ बर्षीय सेती राना, २६ बर्षीय तान माया गाहा र ३२ बर्षीय चमेली दर्लामीको निधन भएको हो ।

त्यसैगरी मृतकका परिवारलाई रोजगारको व्यवस्था गर्ने, मृतकका बालबालिकालाई कक्षा १२ सम्म निशुल्क पठनपाठनको व्यवस्था गर्ने लगायतको सहमति भएको छलफलमा सहभागी सुनमाया मगरले बताइन् ।
सहमतिमा घटनाको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने उल्लेख नभएको भन्दै प्रदर्शनकारीले असहमति जनाउँदै केही बेर पुनप्रदर्शन गरेका थिए ।
प्रदर्शनको क्रममा भ्रष्ट नगरप्रमुख राजिनामा दे, नगरप्रमुख मुर्दाबाद, दोषीलाई कारवाही गर जस्ता नारा लगाएको थिए ।

यसैबीच कावासोती नगरपालिकाले आज ३ जना मदजुरको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक विदा दिएको छ ।

यता नेपाली काँग्रेस कावासोतीले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि छानविन गर्न माग गरेको छ ।



सम्बन्धित
Loading...