कावासोतीमा मजदुर मृत्यु घटनाः दोषी को ?




रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुर जिल्लाको कावासोतीमा विहीबार साँझ नाला निर्माणको काम गर्दा गर्दै एक्कासी नाला खन्दा थुपारिएको माटो खसेर ३ जना मजदुरको मृत्यु भएको घटनालाई लिएर कावासोती शुक्रबार दिनभर तनाबग्रस्त रह्यो ।

एउटा टोली नगरपालिकामा जनप्रतिनिधिहरुसँग छलफलमा थिए भने अर्को टोली नगरपालिका बाहिर प्रदर्शन गरिहेका थिए । बीचमा थिए नगर प्रहरी र नेपाल प्रहरीको टोली ।




प्रदर्शनका क्रममा आक्रोशित प्रदर्शनकारीहरुले कावासोती नगरपालिकाको कार्यालय, नगर प्रमुख विष्णुप्रसाद भुसालको घर र केही पसलमा तोडफोड गरे । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ४ जना प्रहरी घाइते भए पनि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५० सेल अश्रुग्याँस प्रहार गर्न पर्यो ।

प्रदर्शनकारीहरुको मुख्य माग भनेकै दोषीलाई कारवाही गर्नु थियो तर पीडितका पक्षबाट बसेका सरोकारवाला र जनप्रतिनिधि बीचको १० बुदे सहमतिले घटनाको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने विषयमा केही बोल्न सकेन ।

विहीबार एक्कासी भएको घटना आकास्मिक घटना भए पनि धेरैले कुनै न कुनै बेला मानवीय क्षति हुन सक्ने अनुमान लगाइरहेका थिए नभन्दै भयो पनि त्यही फरक यति थियो कुनै बटुवा, यात्रु वा स्थानीय बासिन्दा नभएर काम गर्ने मजदुरहरुले ज्यान गुमाउनु पर्यो ।

एकातिर आवश्यकता भन्दा ठूलो खाडलको नाला खन्नु अर्को तिर नालामा मानवीय क्षति हुनबाट जोगाउन कुनै सावधानिका उपाय नअपनाउनु जोखिमको प्रमुख कारक देखिएको स्थानीयहरु बताउँछन् । तर धेरैले हेक्का नगरेको अर्को मुख्य विषय, काम गर्ने क्रममा मजदुरको सुरक्षालाई पनि ध्यान दिने कुरा झन कुनै सावधानि अपनाइएको थिएन ।

नालाको तल्लो भागमा ५ जना महिला मजदुरहरु डिपिसीको काम गर्दै थिए । दिउँसो १ झरन पानी पनि परेको थियो । मजदुरहरुले काम गरिरहेको नाला माथि नाला खन्दा निस्केको माटाको ढिस्को नाला छेउमै पहाड झै थुपारेर राखिएको थियो । नालाबाट केही पर माटो राख्न सकिने खाली ठाउँ पनि थियो तर तेता तिर कसैले ध्यान पनि दिएनन । अन्नतः तेही माटोको ढिस्को काम गर्ने मजदुरहरुको लागि विपत्ति बनेर बज्रियो । ५ जना मजदुरहरु मध्ये २ जना भाग्न भ्याए तर ३ जना हेर्दा हेर्दै त्यही माटोले पुरिएको घटनाका प्रत्यक्षदर्शीहरु बताउँदछन् ।

घटना साँझ करिब ६ः४० तिर भएको थियो । घटना एकाएक हावासरी फैलियो । घटना स्थलमा ठूलो संख्यामा भिड लाग्यो । घटनाको करिब १ घण्टा पछि पुरिएका मध्ये २ जनाको गम्भीर अवस्थामा उद्दार गरियो भने अर्का १ जनाको करिब २ घण्टा पछि उद्दार गरियो । उद्दार गरिएर मध्यविन्दु जिल्ला अस्पताल पुर्याइएका ३ जना मजदुर सबै अस्पताल पुगे लगतै चिकित्सकले मृत घोषणा गरे । यसको अर्थ पुरिएको मजदुहरु सबैको घटना स्थलमै मृत्यु भएको आकंलन गर्न सकिन्छ । उद्दारको क्रममा उद्दार छिटो होस भनेर जेसिभी प्रयोग गरियो । जेसिभी मजदुर पुरिएको माथि राखेर काम गरिएको कारण पनि मदजुरहरुको जिवितै उद्दार गर्न नसकिएको घटना स्थलका प्रत्यक्षदर्शीहरु बताउँदछन् ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले घटना घट्नुमा नगरपालिकाका, उपभोक्ता समिति र ठेकेदार पक्ष सबैको कही न कही कमजोरी भएको स्वीकार गर्छन् ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले कामको सबै प्रक्रिया पुरा गरेर काम थालनी गर्दा ५÷७ दिन छिटो गर्न सकिने अवस्था रहेको स्वीकार गर्दै त्यो कुरामा पनि ढिलो भएको र काम गर्दा अपनाउन सकिने सावधानी नअपनाएको पाइएको बताए । उनले भने – उपभोक्ता समितिले ठेक्का लगाए । ठेकेदारले अलि सावधानी अपनाउने पर्ने हो त्यसो गरेको देखिएन । अनि खाडल पनि आवश्यकता भन्दा बढी खनिएको रैछ ।

छलफलमा बसेका कावासोती ५ का स्थानीय अगुवा एवम् समाजसेवी रमिला भुजेलले पनि घटना घट्नुमा कुनै न कुनै पक्षको कमजोर भएको हुँदा दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्नेमा सहमति जुट्नु पर्नेमा त्यसो हुन नसकेको स्वीकार गर्दछन् ।

कावासोतीका अर्का स्थानीय बासिन्दा राम तामाङले काम ढिलो शुरु गर्नु, काम सक्न हतार हतार गर्नु, व्यस्त बाटोमा नाला खनेर मानवीय क्षति रोक्न कुनै सावधानी नअपनाउनु र काम गर्दा मजदुरहरुको सुरक्षामा कुनै चासो नदिने घटना घट्नुको प्रमुख कारक मान्दछन् । तामाङले भने – विश्वबैंकबाट हुने यस्तो काममा मजदुरहरुको सुरक्षा सावधानी अपनाउने कुरामा विश्व बैंकले ध्यान दिएको हुन्छ तर काम गर्ने क्रममा त्यो गरेको देखिएन । नगर प्रमुख, प्राधिविक इन्जिनियर, उपभोक्ता समिति वा ठेकेदार पक्ष सबैको कही न कही कमजोरी भएको देखिन्छ । छानविन गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ ।

नेकपा माले नवलपुरका जिल्ला सचिव लोकनाथ काफ्लेले ठेकेदार र इन्जिनियरको लापरवाहीले घटना घटेको बताउँदछन् । राष्ट्रिय स्वतन्त्र पार्टी कावासोती नगर समितिले पनि शुक्रबार साँझ विज्ञप्ति जारी गरेर काम गर्दा मजदुरहरुको सुरक्षामा सावधानी नअपनाउँदा घटना घट्न भएको बताएको छ ।
यता नेपाली काँग्रेस नवलपुरका जिल्ला सचिव महेन्द्र पोख्रेलले घटना घट्नुमा कही न कही कुनै न कुनै पक्षको कमजोरी भएको भन्दै छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताउँदछन् ।

विश्व बैंकको ७ करोड बढीको सहयोगमा कावासोतीका विभिन्न वडाहरुमा अहिले नाला निर्माण लगायतका कामहरु भईरहेका छन् । उक्त कामका लागि फाल्गुन ३ गते बजेट स्वीकृत भएर आएको थियो । उक्त कामका लागि कार्यपालिकाले पास गर्ने, प्राविधिकहरुले लागत स्टेमेट तयार गर्ने, उपभोक्ताहरुले लागत सहभागिता उठाउनु पर्ने लगायतका काम गर्दा ७/८ दिन अलि बढी ढिलो हुने पुगेको कावासोतीका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले जानकारी दिए ।

फाल्गुन ३ गते विश्वबैंकबाट बजेट स्वीकृत भएको भए पनि उपभोक्तासम्म सम्झौता हुँदा बैशाख ३० गते सम्मको समय जुग्रेको देखिन्छ । अर्थात प्रक्रिया पुरा गर्नमै २ महिना खर्चिएको देखिन्छ । असार लागेपछि नै बजेट सक्नु पर्छ भनेर काम गर्ने प्रवित्ति यसमा पनि हावी भएको छ । बैशाख ३० गते उपभोक्ताले सम्झौता गरे पनि उपभोक्ताले पनि सम्झौता भएको ४/५ पछि मात्र काम शुरु गरेको हो ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले घटना भवितव्य भए पनि सुरक्षाको सावधानी नअपनाउँदा घटना भएको मान्दछन् । उनले नवलपुर जिल्लाको पूर्वपश्चिम राजमार्गमा यस्ता निर्माणका काम गर्दा सुरक्षाको सावधानी अपनाउन र सचेत हुने निर्देशन गर्ने बताए ।
उनले भने – जताततै असवधानी पूर्वक काम भएको देखिन्छ । अब हामी सुरक्षा सतर्कता अपनाउन सबैलाई निर्देशन गर्नेछौं ।

उनले दोषीलाई उन्मुक्ति दिन नमिल्ने भन्दै घटनाको अभिलेखिकरण गरेर राख्नुको अर्थ पछि कुनै पनि बेला घटनाको छानविन गर्न मिल्ने र दोषी देखिए कारवाही गर्न सकिने बताए ।

यसैबीच कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरी मजदुरहरुको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।

विहीबार साँझ कावासोती २ फलफूल चोकमा नाला खन्ने क्रममा माटो खसेर पुरिंदा ३ जना मजदुरको निधन भएको थियो ।

ढिस्कोले पुरिएर कावासोती ५ लक्ष्मीनगर निवासी ५१ बर्षीय सेती राना, २६ बर्षीय तान माया गाहा र ३२ बर्षीय चमेली दर्लामीको निधन भएको हो ।



सम्बन्धित
Loading...