कावासोतीमा नाला खन्दा पुरिएर मृत्यु भएका ३ जना मजदुरको सामुहिक अन्त्यष्टी

रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरको कावासोतीमा नाला खन्दा पुरिएर मृत्यु भएका ३ जना मजदुरको शनिबार दिउँसो सामुहिक रुपमा अन्त्यष्टी गरिएको छ ।
कावासोती ३ को चिहान डाँडामा बौद्ध धर्म सस्कार अनुसार उनीहरुको अन्त्यष्टी गरिएको नेपाल मगर संघ कावासोतीका अध्यक्ष सुनमाया थापा मगरले बताइन् ।
कावासोती २ फलफूल चोकमा नाला खन्ने क्रममा एक्कासी खसेको माटोले पुरिएर विहीबार साँझ कावासोती ५ निवासी ५१ बर्षीय सेती राना, २६ बर्षीय तान माया गाहा र ३२ बर्षीय चमेली दर्लामीको निधन भएको थियो ।
शुक्रबार पीडित पक्ष र कावासोती नगरपालिकाका जनप्रतिनिधिबीच १० बुदे सहमति पछि उनीहरुको अन्त्यष्टि गरिएको मृतकका आफन्त एवम् स्थानीय बासिन्दा भेषराज गाहाले बताए ।
मृतकहरुको शनिबार मध्यविन्दु जिल्ला अस्पतालमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
नाला खन्ने क्रममा ३ जना मजदुरको ज्यान गरेपछि नगरपालिका, प्राविधिक, उपभोक्ता समिति र ठेकेदारको लापरवाहीका कारण उनीहरुको ज्यान गएको भन्दै पीडित पक्षले शुक्रबार दिन भर कावासोतीमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनको क्रममा तोडफोड र पटक पटक झडप भए पछि शनिबार पनि कावासोती नगरपालिका र नगर प्रमुख विष्णु प्रसाद भुसालको घर अगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ ।