नवलपुरबाट एसईईमा २ हजार नौ सय ६८ उत्तीर्ण, नवजागरण माविका २ जनाले ल्याए चार जिपिए

नवलपरासी, असार १३ । पूर्वी नवलपरासीको एक सामुदायिक विद्यालयबाट दुई जना छात्रले ४ जीपीए सहित माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन ।
मध्यबिन्दू नगरपालिका वडा नम्बर–७ चोरमारास्थित नवजागरण नमूना माविका छात्रद्वय प्रतिक ज्ञवाली र सौगात पोखरेलले ‘फोर जीपीए’ ल्याएर उत्तीर्ण भएका हुन । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद देवकोटाले १५० जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये प्रतिक र सौगातले चार जीपीए ल्याएको जानकारी दिए ।
‘हामी विगतका वर्षहरूमा ३.९५, ३.९६ जीपीए ल्याउने गरेका थियौं’ प्रअ देवकोटाले भने, ‘यो वर्ष दुई जना मेधावी छात्रले चार जीपीए ल्याएका छन । यसले विद्यालयसँगै जिल्लाको गौरव बढाए ।’
प्रतिक मध्यविन्दु–६ टाँडी र सौगात मध्यविन्दू–१५ घयूरानका हुन । उनीहरू जिल्लाका परीक्षा र अन्य अतिरिक्त क्रियाकलापमा पनि सधै अब्बल हुँदै आएका थिए । विद्यालयका साधारण र प्राविधिक धारको पढाई हुँदै आएको छ ।
परीक्षामा यो वर्ष ‘ए प्लस’ १५ जना, ए ग्रेडमा २५ जना र ‘बि प्लस’ ३२ सहित ८२ जना विद्यार्थीले कक्षा ११ र १२ पढन पाउने गरी उत्तीर्ण भएको प्रअ देवकोटाले जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाइ पूर्वी नवलपरासीका प्रमुख रुद्र शर्माका अनुसार २०८० को एसईईमा पूर्वी नवलपरासीबाट एसईई दिने ६ हजार १ सय १५ थिए । तीमध्ये २ हजार नौ सय ६८ उत्तीर्ण भएका छन् । जिल्लामा रहेका १ सय ३९ माध्यमिक विद्यालय मध्ये ८९ सामुदायिक विद्यालय हुन् ।