मिस नेपाल नर्थ अमेरिका २०२४ को उपाधि अन्ना कोइरालालाई





‘मिस नेपाल नर्थ अमेरिका २०२४’को उपाधि अन्ना कोइरालाले जितेकी छन् । नेपाली समयानुसार आइतबार बिहान अमेरिकाको न्युयोर्कमा आयोजित फिनालेमा नर्थ क्यारोलिना राज्यबाट सहभागि उनले ताज पहिरिइन् ।

मेरिल्याण्डकी रुबी पौडेल उपविजेता र टेक्सासकी आदिश्री रेग्मी द्धितीय उपविजेता घोषित भए । अमेरिका र क्यानडास्थित नेपाली समुदायबाट १८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।


ड्रीम्स युनिभर्सल एलएलसीको आयोजनामा फिनाले मेलरोज बलरुममा सम्पन्न भयो । नेपाली समुदायको बाक्लो सहभागिता रहेको फिनालेमा सहभागि हुन नेपालबाट पूर्वमिस नेपालहरु, कलाकार र मोडल न्युयोर्क पुगेका थिए । ‘उत्साहजनकरुपमा कार्यक्रम सम्पन्न भयो’ आयोजक संस्थाका प्रमुख शैलेन्द्र श्रेष्ठले भने ।

निर्णायकको भूमिकामा कलाकार अनुपविक्रम शाही, आँचल शर्मा, वर्षा राउत, उषा उप्रेती, माम्पी घोष चिकित्सक उदिप श्रेष्ठ, पूर्व मिस युनिभर्स नेपाल अनिश्का श्रेष्ठ, मोडलद्धय भावना कल्वानी र सागरिका श्रेष्ठ सन् २०२२ की मिस नेपाल नर्थ अमेरिकाकी बिजेता प्रतियुशा बोहरा थिए ।

आगामी पुस्तालाई सशक्तीकरण गर्न महिलाको सशक्तीकरण जरुरी नारा दिइएको थियो । प्रशिक्षण बाल्टिमोरमा गरिएको थियो । त्यहाँ तालिमको प्रबन्ध स्थानिय नाम्लो इभेन्ट, नाम्लो अन एयरको टोलीले जिम्मेवारी लिएको थियो । पूर्वमिस नेपाल वल्र्ड सदिक्षा श्रेष्ठ प्रशिक्षकको रुपमा थिइन् ।

होस्टको रुपमा पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री शुभेच्छा खड्का थिइन् । यदि मापदण्ड पुरा भए, यसवर्षको मिस नेपाल नर्थ अमेरिकाको विजेताले सन् २०२५ को मिस नेपालको फिनालेमा प्रतिस्पर्धाको मौका पाउनेछिन् ।



सम्बन्धित
Loading...