विज्ञान विषय पढ्ने दश जना विद्यार्थीलाई कावासोती नगरपालिकाद्वारा छात्रवृत्ती प्रदान





नवलपुर । कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्ने १० जना विद्यार्थीलाई नगर विशेष छात्रवृत्ती प्रदान गरेको छ । विज्ञान विषय पढाई हुने शिव माध्यामिक विद्यालय र त्रिभुवन बाल माध्यामिक विद्यालयमा अध्ययन गर्ने ५–५ जना विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्तीको लागि छनोट गरेको हो ।

छनोट भएका विद्यार्थीहरुले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तीमा अध्ययन गर्न पाउनेछन् । छनोट भएका विद्यार्थीहरुलाई आईतबार नगर प्रमुख बिष्णु प्रसाद भुसालले छनोटको प्रमाणपत्र समेत प्रदान गरे । सो क्रममा उनले नगरपालिका भित्रबाट छनोट हुन सफल विद्यार्थीहरुलाई बधाई दिदै आआफ्नो क्षेत्रमा उत्कृष्टता प्राप्त गर्नका लागि शुभकामना समेत व्यक्त गरे ।


छात्रवृत्तीका लागि छनोट भएकोप्रति विद्यार्थी वापत नगरपालिकाले विद्यालयलाई ५२ हजार रुपैयाका दरले दुई लाख ६० हजार रुपैया उपलब्ध गराउनेछ । जसबाट विद्यार्थीले कक्षा ११ र १२ मा निशुल्क अध्ययन गर्न पाउने नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीले बताए ।

आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम मार्फत नगरपालिकाले विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्ने नीति लिएको थियो ।

कावासोती नगरपालिकाले यस अगाडी नगरपालिका भित्र प्राविधिकधारका कक्षा सञ्चालन हुने जनता माध्यामिक विद्यालय मगरकोट र शहिद स्मृती माध्यामिक विद्यालयमा अध्ययन गर्ने ५–५ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्दै आएको थियो ।

विगतमा दिईदै आएको प्राविधिक तर्फको छात्रवृत्तीलाई निरन्तरतासंगै यस वर्षबाट विज्ञान संकाय तर्फ थप विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको शिक्षा अधिकृत राजन पाण्डेले जानकारी दिए ।



सम्बन्धित
Loading...