नेपाललाई घरमै हराउँदै बंगलादेशले जित्यो ऐतिहासिक उपाधि





घरेलु टिम नेपाललाई ४–१ गोल अन्तरले हराउँदै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बङ्गलादेशलाई जित दिलाउन मिराजुली इस्लामले दुई गोल गरे। अर्को गोल मोहम्मद रब्बी हुसेन राहुल र पियास अहमद नोभाले गरे। नेपालका समिर तामाङले एक गोल फर्काए।


जितसँगै बङ्गलादेशले समूह ए मा हारेको २–१ को बदला लिएको छ। उपाधिमा ह्याट्रिक गर्ने योजना बनाएको नेपाल मिडफिल्डर नचल्दा कमजोर देखियो।

पहिलो हाफको इन्जुरी समयमा इस्लामले फ्रीकिकमा गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाएका थिए। उनले बक्सबाहिर आएको फ्रीकिकलाई सोझै गोलमा परिणत गरे।

बङ्गलादेशले दोस्रो हाफमा दुई गोल थप्यो। ५५औँ मिनेटमा इस्लामले नै गोल गर्दै अग्रता २–० को अग्रता बनाए। ७१औं मिनेटमा राहुलले गोल गरेपछि घरेलु टिम ३–० ले पछि पर्यो।

८०औं मिनेटमा नेपालले एक गोल फर्कायो। समिर तामाङले गोल गरे। तर,  १० मिनेटको इन्जुरी समयमा नोभाले गोल गर्दा बंगलादेशले सहज जित निकाल्यो।

भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपाल र बंगलादेशसँगै ६ टोलीको सहभागिता थियो। यसअघि भारतले तीन र नेपालले दुईपटक उपाधि जितेका छन्।



सम्बन्धित
Loading...