गैडाकोटमा सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीय गरे चक्का जाम


 



नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै नवलपुरको गैँडाकोटमा स्थानीयले सोमबार चक्काजाम गरेर विरोध जनाएका छन् ।

सडक विस्तार तथा मर्मतमा भएको ढिलासुस्तीका कारण यात्रु र स्थानीयले दुःख पाएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।




गैँडाकोट २ पुलचोक नजिक इलाका प्रहरी कार्यालय गैँडाकोट अगाडि स्थानीयले करिब १ घण्टा चक्काजाम गरेका हुन् । उनीहरुले चाडपर्व नजिकिदाँ समेत सडक मर्मतमा कुनै चासो नदिएको उल्लेख गर्दै टायर बालेर समेत बिरोध गर्दै सडक अवरुद्ध गरेका हुन् । छिटो काम गर्न दबाब दिनका लागि सडक अवरुद्ध गरिएको स्थानीयहरुले बताएका छन् । उनीहरुले बिहान ११ बजेदेखि १ घण्टा चक्काजाम गरेका हुन् ।

 

होटल व्यवासायी कमल गौतमले सडकमा हिँडने मात्रै नभई पसल बस्नेहरुलाई पनि असर गरिरहेकोले बाध्यताले चक्काजाम गर्नुपरेको बताए । लामो समयसम्म पनि व्यवसायीको अगाडी ठूला ठूला खाल्डो खनेर अलपत्र पारेको उनको भनाई थियो ।

 

गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटाले निर्माण पक्षलाई पटक पटक आग्रह गर्दा पनि अटेर गरेका कारण सडकमा उत्रनु परेको बताए ।

 

प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक निर्माण पक्षलाई बोलाएर छलफल गराउने आश्वासन दिएपछि अवरुद्ध सडक स्थानीयले खोलेका थिए ।

 

सामान्य पानी पर्दा पनि यहाँ अन्य क्षेत्रको पानी समेत बगेर आउने भएकोले हिलाम्य हुने गरेको छ भने घाम लाग्दा धुलाम्य हुने गरेको छ । हिलो हुँदा पनि सडक मर्मत नगर्ने तथा घाम लाग्दा पानी समेत नहाल्ने गरेको स्थानीयले बताउँदै आएका छन् ।

 



सम्बन्धित
Loading...