कावासोतीमा सुकुम्वासीलाई तत्काल लालपूर्जा वितरण गर्न माओवादी केन्द्रको माग
कावासोती, भदौ ३० गते । नेकपा माओवादी केन्द्र नवपुरले सुकुम्वासीलाई लालपूर्जा वितरणको काम तत्काल अघि बढाउन माग गर्दै कावासोती नगरपालिकाका प्रमुख विष्णु भुसाललाई ज्ञापन पत्र बुझाएको छ ।
माओवादी केन्द्रका कावासोती नगर समितिका अध्यक्ष रामराज पण्डित नेतृत्वको प्रतिनिधि मण्डलले पालिका प्रमुख, उपप्रमुख कार्यालयमा नभेटिएपछि प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।
लामो समयदेखि यो पालिकामा सुकुम्वासी समस्या जटिल बनाएर सुकुम्वासीप्रति अमानवीय व्यवहार राज्यबाट हुँदै आएको थियो, प्रचण्ड सरकारले त्यसको गाँठो फुकाएर सुकुम्वासीलाई लालपूर्जासहिति जमिन वितरण सुरु गरेको थियो र हजारौं सुकुम्वासीले लालपूर्जा पाएको अवस्था हो । जुन अहिले रोकिएको छ । तुरुन्त यो प्रक्रिया अघि बढाई लालपूर्जा वितरण गरियोस, ज्ञापन पत्रमा भनिएको छ ।
माओवादीले पालिका भित्रका सार्वजनिक, सरकारी, गुठी, कुलो, एैलानी र दशकौदेखि चलनचल्तीमा रहेका बाटा भूमाफियाले कब्जा गर्ने, कर्मचारीको मिलेमतोमा दर्ता गर्ने काम भइरहेकोले सिघ्र नापजाच गरी तीन महिनाभित्र पालिकाको अधिनमा ल्याउन पनि माग गरेको छ ।
त्यस्तै पालिका भित्र रहेका वेथिती र बिचौलियाको अन्त्य गर्न र सर्वसाधारणले सहज रुपमा सेवा सुविधा पाउने वातावरण मिलाउन पनि माओवादीले पालिकालाई आग्रह गरेको छ । तीन महिना भित्र यी समस्या समााधान नभएमा संघर्ष गर्न वाध्य हुने चेतावनी पार्टीले दिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत पौडलले नीतिगत रुपमा हुने काम आफूहरुले गर्ने र राजनीतिक माग पूरा गराउनका लागि राजनीतिक तहमै र पालिका प्रमुखसँग पनि समन्वय र सहकार्य गर्न आग्रह गरे ।