दुर्गा प्रसाईका समर्थकद्वारा कावासोतीमा प्रदर्शन

नवलपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थकहरुले नवलपुरको कावासोतीमा प्रदर्शन गरेका छन् ।
प्रसाईको रिहाईको माग गर्दै नागरिक बचाउ अभियानको अगुवाईमा कावासोतीमा प्रदर्शन गरिएको हो ।
कावासोती ८ शैक्षिक चोकबाट शुरु भएको र्याली फलफूल चोक, सभापति चोक हुँदै जिल्ला प्रशासन कार्यालय नवलपुरमा पुगेर कोण सभामा परिणत भएको थियो ।
विरोध र्यालीमा दुर्गा प्रसाईलाई रिहा गर, गणतन्त्र धोका हो, लघुवित्त खारेज गर, मिटरब्याजीलाई कारवाही गर जस्ता नारा लगाएका थिए ।
नागरिक बचाउ अभियानका जिल्ला अध्यक्ष सूर्य बस्नेतको नेतृत्वमा भएको विरोध र्यालीमा यहाँका लघुवित्त पीडित, मिटरब्याजी पीडित लगायतको सहभागिता रहेको थियो ।
र्याली पछि उनीहरुले नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई दुर्गा प्रसाईको रिहाईको माग गर्दै ज्ञापन पत्र पनि बुझाएका थिए ।
र्याली पछि आयोजित कोण सभामा बोल्दै सहभागीहरुले दुर्गा प्रसाईलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा जाने चेतावनी समेत दिए ।