नवलपुरको ठाउँठाउँमा डुबान




रामकुमार श्रेष्ठ –
नवलपुर । हिजोदेखि अविरल रुपमा परेको पानीले नवलपुरको विभिन्न स्थान डुबानमा परेको छ । नवलपुरको गैडाकोट ७ गैरी स्थित सिकारी टोलमा नारायणी नदीको पानी पसेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणी नदीबाट पसेको पानीले गैडाकोट ७ गैरी सिकारी टोलमा १५ घर डुबानमा परको र उनीहरु विस्थापित भएका छन् ।




विस्थापित भएकाहरुलाई छिमेकीको घर गएर बसेको प्रहरीले जनाएको छ । कुनै मानवीय क्षति नभएको र ४ वटा बंगुर बगाएर लगेको प्रहरीले जनाएको छ ।

त्यसैगरी नवलपुरको गैडाकोट २ बोटेटोल र सुकुम्बासी टोलमा आज विहान ६ बजेदेखि नारायणी नदीमा आएको बाढी परेको छ । यहाँ नारायणी नदीको पानी पसेर १० पिट जति गाउँमा पानी जमेको छ ।

बाढीले यहाँ एक सय ५० घर डुबानमा परेको स्थानीयले जनाएको छ । यहाँ रहेकालाई प्रहरी, सशस्त्र प्रहरीले विहानै उद्दार गरेर सुरक्षित स्थानतर्फ लगेको छ ।

त्यसैगरी गैडाकोट ९ को थुम्सी आसपासको क्षेत्रमा ५० घर र गैडाकोट १० पितौजीमा ३० घर डुबानमा परेको छ ।

त्यसैगरी नवलपुरको मध्यविन्दु २ सेहरीमा नारायणी नदीको पानी पसेको छ । यहाँ पानी मानव वस्तीमा पस्दा १९ घर डुबेको छ । यहाँ ७० जनालाई उद्दार गरेर सुरक्षित स्थानतर्फ सारिएको र उद्दार कार्य चलिरहेको प्रहरी चौकी कोल्हुवाले जनाएको छ ।

त्यसैगरी कावासोती १५ बाघखोरमा रहेको अमलटारी होम स्टे भिलेज पुरै डुबानमा परेको छ । यहाँ ४० घर बढी डुबानमा परेको हो । केरुङ्गे खोला र नारायणी नदीका पानी पसेपछि यहाँ डुबानमा परेको हो ।



सम्बन्धित
Loading...