हट्न थाल्यो कावासोती फलफूल चोक पसलहरु
नवलपुर । नवलपुरको कावासोतीमा रहेको जिल्ला प्रहरी कार्यालय अगाडि रहेको प्रहरीको जग्गामा पेट्रोल पम्म बन्न शुरु गरेपछि प्रहरीको जग्गामा बनेको संरचनाहरु हट्न शुरु भएको छ ।
कावासोती २ फलफूल चोकमा रहेको प्रहरीको जग्गामा रहेकोे फलफूल लगायतका पसलहरु हट्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले यस अघि ३५ दिने सूचना जारी गरेको भए पनि दशैंतिहार जस्ता चाडपर्वलाई लक्षित गरी संरचना नहटाउन र चाडपर्वपछि स्वतः हट्ने व्यापारीहरुको प्रतिबद्धता अनुसार संरचना हट्न थालेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए ।
उहाँका अनुसार अब केही दिनमा उक्त ठाउँ पूर्ण रुपमा खाली हुने छ । त्यसैगरी पेट्रोल पम्म र विद्युतीय चाजिङ्ग स्टेशन निर्माणको काम २० प्रतिशतका हाराहारीमा सकिएको प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए ।
स्थानीय व्यवसायीहरुले भने तत्काल आफूहरु हटे पनि आफूहरुले यहाँ बर्षौदेखि व्यापार व्यवसायबाट विस्थापित हुनु पर्ने अवस्था आएको गुनासो गरेका छन् । उनीहरुले अहिले राज्यको काममा आफूहरुले सहयोग गरेपनि राज्यले पनि आफूहरुलाई व्यापार गर्ने उचित ठाउँको व्यवस्था गरिदिन माग गरेको छन् । त्यसको वरिपरि रहेका ४१ वटा व्यवसायीहरू हट्ने भएका हुन् ।