नारायणी नदीमा आश्रित समुदायका लागि नारायणी नदीमा ६ हजार माछाको भुरा छाडियो – भिडियो रिपोर्ट




रामकुमार श्रेष्ठ –
नवलपुर । पानी आफैमा मानव जीवनका लागि नभई नहुने पञ्चतत्व मध्य एक हो । पानी विनाको मानव जीवन कल्पना सम्म गर्न सकिन्न । मानव इतिहासमा सबैभन्दा पहिला नदी आसपासकै बस्तीबाट मानव सभ्यता विकास भएको पाइन्छ । तर, अहिले यही नदी आसपास बसोबास गर्ने, नदीमै आश्रित भएर पुस्तौदेखि जीविकोपार्जन गर्दै आएका समुदायलाई राज्यले वेवास्ता गर्ने गरेको छ ।

अझै पनि बोटे, माझी, मुसहर, थारु, कुमाल, दराई जस्ता समुदाय नवलपुरको नारायणी नदीमै आश्रित भएर जीवन निर्वाह गर्ने गरेका छन् । यिनै समुदाय जो नारायणी नदीबाट माछा मारेर जीविकोपार्जन गर्ने गर्दछन् । तिनै समुदायलाई लक्षित गरी नवलपुरका नारायणी नदीमा नैनी प्रजातिका ६ हजार माछाको भुरा छाडिएको स्थानीय माछा पालक किसान परमेश्वर महतोले बताए ।




विश्व मत्स्य दिवसको अवसर पारेर कावासोती १७ अमलटारीबाट नारायणी नदीमा माछा छाडिएको हो । नारायणी नदीमा पछिल्लो समय माछाको संख्या लोप हुँदै गएको बताइन्छ । नारायणी नदीमा नदीको प्राकृतिक वातावरणलाई स्थायी राख्नका लागि माछाको भुरा छाडिएको नवलपुर मत्स्य व्यवसायी संघका अध्यक्ष इन्द्रमणि भुसालले बताए ।

नारायणी नदीमा बेलाबेलामा माछा, घडियाल गोही, कछुवा छाड्ने गरिन्छ । गत बर्ष पनि यहाँ मत्स्य दिवसकै दिन पारेर माछा छाडिएको थियो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरको आयोजनामा आज माछा छाडिएको हो । नारायणी नदीमा माछा मारेर जीविकोपार्जनमा सहयोग पुगोस भन्ने उद्दश्यले नारायणी नदीमा माछाको भुरा छाडिएको हो ।

नवलपुरमै उत्पादन भएका माछाका भुरा नारायणी नदीमा छाडिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका कार्यालय प्रमुख डा. शर्मिला कुमालले बताए । उनका अनुसार यहाँ छाडिएका एउटा माछाले एक पटकमा ३ लाख सम्म माछाका भुरा जन्माउन सक्ने भएकोले केही माछा मात्रै हुर्कन सक्यो भने पनि उपलब्धिमुलक हुनेछ ।

नारायणी नदी चितवन राष्ट्रिय निकुञ्जमा रहेको गैडा, बाघ, भालु, हात्ती जस्ता जंगली जनावरका साथै यहाँ आउने लाखौं चराचुरुङ्गीको पानीको स्रोत पनि हो । त्यसैले नारायणी नदीलाई पुरानै अवस्थामा फर्काउन नसकेपनि यहाँ रहेका जलचरहरुलाई संरक्षण गर्नु आवश्यक छ ।



सम्बन्धित
Loading...