कावासोतीको शिव माविको स्वर्ण महोत्सवको तयारी अन्तिम चरणमा

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोती २ मा रहेको शिव नमुना माध्यमिक विद्यालयका स्वर्ण महोत्सव मंसिर २९ गतेदेखि शुरु हुने भएको छ ।
२०३१ सालमा स्थापना भएको शिव नमुना माध्यमिक विद्यालयको स्थापनाको ५० बर्ष पुरा भएको अवसरमा विद्यालयले स्वर्ण महोत्सव गर्न लागेको हो ।
स्वर्ण महोत्सवको बारेमा जानकारी दिन आज शिव माविमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार स्वर्णमहोत्सवको उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुहुने भएको छ ।
विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले पत्रकार सम्मेलनमा बोल्दै स्वर्ण महोत्सवबाट संकलित सहयोगबाट विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक सामग्री थप गर्न प्रयोग गरिने भएकोले सबैलाई सहयोग गर्न आग्रह पनि गर्नुभयो ।
पत्रकार सम्मेलनमा स्वर्ण महोत्सवको बारेमा जानकारी गराउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कावासोती २ का वडा अध्यक्ष शिव पाण्डेले विद्यालयले स्वर्ण महोत्सव मनाउन पाउनु विद्यालयको लागि गौरवको विषय भएको बताउनुभयो ।
मंसिर २९ गतेबाट शुरु भएर पुस २ गतेसम्म सञ्चालन हुने स्वर्ण महोत्सवको अवसरमा विद्यालयले स्वर्ण महोत्सव स्तम्भ अनावरण, विज्ञान प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, खाना उत्सव, पूर्व विद्यार्थी तथा विद्यार्थी, शिक्षक, पूर्व समितिबीच पुनर्मिलन कार्यक्रम, रक्तदान स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।
महोत्सवबाट विद्यालयले आर्थिक सहयोग संकलन गर्ने अभियानको रुपमा पनि लिएको छ ।

कार्यक्रममा प्रचारप्रसार उपसमितिका संयोजक कपिलदेव भुसाल शिवमावि कावासोतीको गहना समेत भएकोले सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।