कावासोतीको फोहोर व्यवस्थापनको विषयमा सहमति जुट्यो, फोहोर उठ्न भने अझै एक साता लाग्ने




रामकुमार श्रेष्ठ –
नवलपुर । कावासोतीको फोहोर व्यवस्थापनको विषयमा कावासोती नगरपालिका र कावासोती १६ को अंकुर सामुदायिक वन बीच सहमति जुटेको छ । हिजो र आज गरी दुई दिनसम्म भएको छलफल पछि सहमति जुटेको हो ।

नवलपुरको कावासोती १६ मा रहेको अंकुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीको फोहोर एक साता देखि उठ्न सकेको थिएन ।




फोहोर व्यवस्थापन पूर्व करिब ५ बर्ष अगाडि कावासोती नगरपालिका र सामुदायिक वन बीच भएको सहमति अनुसार फोहोरलाई वर्गीकरण गर्ने, कुहिने फोहोरलाई कम्पोष्ट मलको रुपमा परिणत गर्ने, नकुहिने फोहोरलाई थप वर्गीकरण गरी विक्री हुने चिजलाई विक्री गर्ने लगायतको व्यवस्थापन गर्ने भन्दै कावासोती नगरपालिकाले अंकुर सामुदायिक वनको नजिकै केरुङ्गे खोला छेउमा विगत ५ बर्षदेखि फोहोर फाल्दै आएको थियो ।

नगरपालिकाले ५ बर्षसम्म पनि उक्त सहमति पालना नगरेकोले फोहोर फाल्न रोकेको अंकुर सामुदायिक वनका अध्यक्ष लोकबहादुर केसीले बताए ।

अहिले फोहोर उठ्न छाडेपछि बजार दुर्गन्धित बन्न थालेको कावासोती १६ का स्थानीय बासिन्दा हरि केसीले बताए ।

कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले सामुदायिक वनले फोहोर फाल्न लिखित पत्र दिएर रोकेको जानकारी गराउँदै उनले फोहोर फाल्ने क्षेत्रलाई व्यवस्थित गराउन कार्यपालिकाको वैठक बसेर थप निर्णय लिइने जानकारी दिए ।

यता अंकुर सामुदायिक वनका अध्यक्षका लोकबहादुर केसीले आफूहरुलाई नगरपालिकाले झुक्काएको बताए । उनले नगरपालिकाले कुनै पनि दुर्गन्ध नआउने गरी फोहोर व्यवस्थापन सञ्चालन गर्ने, फोहोरलाई वर्गीकरण गरेर कुहिने फोहोरलाई कम्पोष्ट मल गराउने लगायतका कुरा गरेर फोहोर फालेको भए पनि ५ बर्षसम्म कार्यान्वयन नगरेको सामुदायिक वनका अध्यष केसीले बताए ।

नगरपालिकाले फोहोर उठाउनका लागि बर्षेनी टेण्डर आव्हान गरेर ठेक्कामा फोहोर उठाउन दिने गरेको छ । जस वापत नगरपालिकाले फोहोर संकलन गर्दा घरघरबाट उठेको रकमको २४ प्रतिशत रकम लिने गरी ठेक्का लगाएको हो ।

फोहोर व्यवस्थित नगर्दा कावासोती ३ का बासिन्दाले दुर्गन्ध सहन बाध्य भएका छन् भने कतिपय अवस्थामा विषाक्त खाना खाएर मरेका कुकुर विरालो, स्याल आदिको सिनो खाएर उक्त फोहोर फाल्ने गरेको आसपासको क्षेत्रमा बर्षेनी दर्जनौको संख्यामा गिद्ध मर्ने गरेको पाइने समेत गरेको छ ।

त्यसैगरी फोहोर फाल्न जाने ट्याक्टर चालक तथा मजदुरहरुले घरघर तथा बजारबाट उठाएको फोहोर बाटो बाटोमा खसाल्दै हिड्ने गरेको समेत पाइएको छ । फोहोर फाल्ने क्षेत्रमा अहिले फोहोर पहाड बनेको छ ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले अंकुर सामुदायिक वनका पदाधिकारीहरुलाई छलफल सहमतिमा पुगेको बताए । उनले भने – अब केही दिनमा फोहोर उठ्छ । फोहोर उठाउनु पूर्व फोहोर फालिएको ठाउँमा सरसफाई गर्ने र त्यसपछि थप प्रक्रिया अगाडि बढाएर फोहोर उठाइने छ ।’

 

 

अध्यक्ष केसीले भने सहमति भएको जानकारी दिंदै सहमति भए पनि सहमति अनुसार पहिलो काम नभए तत्काल फोहोर फाल्न नदिने बताए । सहमति अनुसार फटाफट काम भए पनि बजारको फोहोर उठ्न अझै सातादिन लाग्ने उनको भनाई छ ।

अध्यक्ष केसीका अनुसार अहिले जम्मा भएको फोहोरलाई सबैभन्दा पहिला वर्गीकरण गर्ने, अब उठाएका फोहोरलाई जुन दिन ल्याइन्छ त्यही दिन वर्गीकरण गर्ने, बजारका फोहोरहरु घरघरमै वर्गीकरण गर्न लगाउने, वर्गीकरण नगरेको फोहोर नउठाउने लगायतको सहमति भएको हो ।



सम्बन्धित
Loading...