महोत्सवले मगर समुदायलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोप, महोत्सवमा सहभागी नहुन आग्रह




नवलपुर । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोती–१६ डण्डामा जारी नवलपुर महोत्सवमा जारी महोत्सवमा आयोजकले आदिवासी जनजाति समुदायको अस्तित्व स्वीकार नगरेको आरोप लागेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै महोत्सवमा आदिवासी जनजाति समुदायको कला संस्कृति भेषभुषा संरक्षणका लागि भनेर नारा दिइएर महोत्सव गरिएको भए पनि महोत्सवमा आदिवासी जनजातिहरुको पहिचान झल्कने कुनै पनि प्रदर्शनी नराखिएको जनाएको छ ।




उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दा आदिवासी जनजाति लगायतको भेषभुषा, कला संस्कृति संरक्षणको नारा दिएर आयोजना गरिए पनि महोत्सव भित्र त्यस्ता कुनै स्टल तथा प्रदर्शनी नरहेको भन्दै महासंघ लगायतका जातीय संघ संस्थाले असहमति जनाउँदै महोत्सवलमा सहभागि नहुने निर्णय गरेका नेपाल मगर संघ नवलपुरका अध्यक्ष भुमराई मगरले बताए ।

यस अघि उनीहरुले विज्ञाप्ती निकालेर जनजाति महासंघ, जातीय घटकमा आवद्ध सबैलाई संस्थागत रुपमा सहभागी नहुन पनि निर्देशन दिएका थिए तर, पछिल्लो सयम महोत्सव आयोजक संस्था नवलपुर उद्योग वाणिज्य संघले मगर लगायतका जनजाति समुदायलाई आर्थिक प्रलोभनमा पारी महोत्सवमा सहभागी गराउने विभिन्न प्रयासहरु गरिरहेको उनीहरुको आरोप छ ।

संघले मगर एकता दिवसको अवसरमा फागुन १५ गते जातीय पहिचानसहित उपस्थित हुनेलाई निःशूल्क प्रवेश गर्न दिने बताएपछि जातीय संस्थाहरुले प्रलोभवमा पारेर आफूहरुलाई विभाजित गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘‘संस्थागत रुपमा आधिकारिक छलफललाई अगाडि नबढाई मनोमानी गर्नु नवलपुर उद्योग वाणिज्य संघले हाम्रो सांगठनिक अस्थित्वलाई स्वीकार नगर्नु हो,” विज्ञप्तीमा भनिएको छ, ‘‘एउटा जातीय समुदायको एकतामा खलल पुर्याउने गरी गरिएको गम्भीर आक्रमणको हामी घोर भत्सर्ना र निन्दा गर्दछौं ।’’

त्यसैगरी विज्ञप्तिमा मगर दिवसको दिन मगर पोशाकमा आउनेलाई निशुल्क प्रवेश दिने भनी नवलपुर उद्योग वाणिज्य संघले दिएको प्रलोभनमा नपर्न सबैलाई आग्रह समेत गरिएको छ ।



सम्बन्धित
Loading...