कावासोतीमा मिटर ब्याजी पीडितद्वारा २ जनाको घर जग्गा कब्जा

नवलपुर । नवलपुरका मिटर ब्याजी पीडितहरुले मंगलबार २ जनाको घर जग्गा कब्जा गरेका छन् ।
कावासोती १७ निवासी मिटरब्याजी पीडित सोमिया महतो र कावासोती १४ निवासी माया गिरीको घर जग्गा मिटरब्याजी पीडकहरुले कानुनी रुपमा घर जग्गा आफ्नो नाममा गराएपछि पीडितहरुले उक्त घर जग्गा कब्जा गरेको हो ।
मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन संघर्ष समिति नवलपुरका अध्यक्ष सारदा पौडेलका अनुसार सोमिया महताको घर जग्गा चन्दा महतो र माया गिरीको जग्गा लक्ष्मी वाग्लेले कानुनी रुपमा आफ्नो नाममा गरेको छ ।
सोमिया महतोले चन्दा महतोसँग ४ लाख रुपैयाँ लिएकोमा ३५ लाख रुपैया तिर्दासम्म ऋण चुक्ता नभएको र अझै ९ लाख रुपैयाँ भुक्तान पाउन बाँकी रहेको कागज गराएको र माया गिरीले लक्ष्मी वाग्लेसँग १२ लाख लिएकोमा १८ लाख भुक्तान गर्दा पनि अझै २२ लाख ८० हजार रुपैयाँ तिर्न बाँकी भएको कागज गराएको छ ।
नवलपुर जिल्ला अदालतमा पीडक पक्षहरुले मुद्दा हालेर पीडक पक्षले मुद्दा जितेपछि आफूहरु उक्त फैसाला विरुद्ध घर जग्गा कब्जा गर्ने अभियानमा लागेको अध्यक्ष सारदा पौडेलले बताइन् ।
मंगलबार उनीहरुले २ जनाको घर जग्गा फिर्ता पाउनु पर्ने माग गर्दै कब्जा गरेको हो । उनीहरुले थप आन्दोलनमा जाने चेतावनी दिएका छन् ।