एक महिनादेखि कावासोतीमा फोहोर उठेन




नवलपुर । नवलपुरको कावासोतीमा १ महिनादेखि फोहोर उठ्न नसक्दा प्रदुषण बढेको छ ।

कावासोती ३ को केरुङ्गे खोला पारी अंकुर सामुदायिक वन विगत ५ बर्षदेखि फोहोर विर्सजन गर्दै आएकोमा फोहोर उचित ढंगले व्यवस्थापन नगर्दा प्रदुषण बढेको भन्दै विरोध भएपछि फोहोर उठ्न सकेको थिएन । पछि नगरपालिका र सामुदायिक वन बीच सहमति भई फोहोर वर्गीकरण गरेर व्यवस्थापन गरेपछि मात्र उठाउन सहमति भएको थियो । तथापि फोहोर वर्गीकरणको काम नसकिएकोले फोहोर उठ्न नसकेको हो ।



कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले अहिले दुर्गन्ध रहित फोहोर व्यवस्थापनको लागि पहिला जम्मा भएको फोहोर वर्गीकरण भईरहेकोले उक्त काम सकिएपछि मात्रै फोहोर उठ्ने बताए ।

त्यसैगरी अंकुर सामुदायिक वनका अध्यक्ष लोकबहादुर केसीले फोहोर वर्गीकरणको काम चलिरहेको र वर्गीकरणको काम सक्न अझै २ साता लाग्ने भएकोले फोहोर उठ्न नसकेको बताएका छन् ।

उनका अनुसार अहिले पुरानो फोहोरलाई वर्गीकरण गरि विक्री हुने फोहोरलाई विक्री गर्ने र विक्री नहुने फोहोरलाई जेसिबी र एक्साभेटर लगाएर खाडल खनेर पुर्ने र त्यस पछि खोलातिर जान नदिन तट्बन्धन गर्ने काम हुने छ । फोहोर वर्गीकरणको काम शुरु भएको करिब २ साता वितिसक्दा पनि अहिलेसम्म ५० प्रतिशत फोहोर पनि वर्गीकरण हुन सकेको छैन ।

 


सम्बन्धित
Loading...