गर्मी बढेसँगै नवलपुरको ठाउँठाउँमा आगलागी र डढेलो

रामकुमार श्रेष्ठ –
नवलपुर । गर्मी बढेसँगै नवलपुरको ठाउँठाउँमा आगलागीको घटना बढेको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ रानीनगरमा ३ घरमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति १ बजेतिरको समयमा अचानक विद्युत सर्ट भई आगलागी भएको हो ।
बिनयी त्रिवेणी गाउँपालिका ७ रानिनगर स्थितमा सुमित घिमिरेको पुजा सामाग्री पसल, गणेश क्षेत्रीको कपडा पसल र सरस्वती अधिकारीको कस्मेटिक्स पसलमा आगलागी भएको हो ।
आगलागी हुदाँ मानविय क्षति नभए पनि तिनै वटै पसलहरु पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगो प्रहरी टोली, दमकल र स्थानीयको सहयोगमा राति नै पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण नआइपुगेको प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपुरको गैडाकोट ११ भेडाबारी स्थित बाबुराम थनेतको २ तले पक्की घरमा आगलागी भएको छ ।
आज विहान पौने १० बजेतिर विद्युत सर्ट भई अचानक आगलागी भएको हो ।
आगो प्रहरी र स्थानियहरुको सहायतामा करिब आधा घण्टामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति नभएको तथा कोठाभित्र रहेको सोफा सेट र कपडा जली क्षति भएको र क्षतीको विवरण एकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपुरका सामुदायिक वन तथा राष्ट्रिय वनहरुमा पनि आगलागीका घटना बढ्न थालेका छन् ।
नवलपुरको बुलिङ्गटार गाउँपालिका ३ धारापानी नजिकै रहेको सामुदायिक वनमा आगलागी भएको छ ।
आज दिउँसो सवा ४ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
आगो प्रहरी र स्थानियहरुको सहायतामा बस्ती नजिकैको आगो निभाएको र खोल्सा र वनको बिच भाग तर्फको आगो निभाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपुरको कावासोती ८ मा रहेको मनकामना सामुदायिक वनमा आज दिउँसो आगलागी भएको छ ।
आगलागीबाट मनकामना सामुदायिक वनको साढे २ सय हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ ।
आगो स्थानीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
यता मध्यबिन्दु नगरपालिका १० को चक्ला वन क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएको छैन ।
करिब २ सय हेक्टरमा फैलिएको डढेलो नियन्त्रणको प्रयास भए पनि सुक्खा मौसम र हावा लागेको कारण नियन्त्रणमा आउन नसकेको हो ।
डढेलो फैलिन नदिन ‘फायर लाइन’ बनाएर डढेलो नियन्त्रणको प्रयास भइरहेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिशिर लम्सालले बताए ।
यसैबीच डिभिजन वन कार्यालय नवलपुरको आयोजनामा आज वन कार्यालय कावासोतीमा पर्यावरण संरक्षणमा सञ्चारकर्मीको भूमिका विषयक पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा डिभिजन वन कार्यालय नवलुरका प्रमुख वसन्त केशव अधिकारीले नवलपुरमा पछिल्लो ३ बर्षमा वनमा डढेलो लाग्ने क्रम घटे पनि यस बर्ष वनमा डढेलो बढ्न सक्ने बताए ।
उनले यस बर्ष अहिलसम्म पानी नपरेका कारण वनमा आगलागीका घटना बढ्न सक्ने बताए ।
कार्यक्रममा सहभागी पत्रकारहरुले नवलपुरमा वन डढेलो नियन्त्रणका लागि हालसम्म गरेको कामको बारेमा जिज्ञासा राखेका थिए ।