दाउन्नेमा २० किलोमिटरसम्म ट्राफिक जाम, यात्रुको विचल्ली




नवलपुर, चैत २९ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा चिप्लो बाटोका कारण सवारी साधन चल्न नसक्दा यात्रुको विचल्ली भएको छ । राति १२ बजेदेखि एउटा गाडी पनि पास हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।

‘‘म दुम्किवास र दाउन्ने खण्डको बीचमा छु, राति १२ बजेदेखि एउटा गाडी पनि पास हुन सकेको छैन, डोजरले धकेलेर पास गराए जाने हो नत्र गाडी चिप्लिएर अघि बढ्नै सक्दैनन्,’’ प्रहरी उपरीक्षक ढकालले भने ।



दुई फिटसम्म जमेको धुलोमा हक्का पानी परेपछि बाटो चिप्लो भएर गाडी चल्न नसकेका हुन् । चैत २७ गतेदेखि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर बाटो बिस्तारको काम गरिएको थियो । तर त्यसै रातीदेखि परेको हल्का वर्षाका कारण यात्रुले सास्ती पाएका हुन् ।

बाटो बन्द हुँदा दाउन्ने पश्चिमभन्दा दाउन्ने पूर्वमा अत्याधिक ट्राफिक जाम भएको प्रहरी उपरीक्षक ढकालले बताए । उनले दाउन्नेदेखि पश्चिम झण्डै चोरमारासम्म २० किलो मिटरभन्दा बढी ट्राफिक जाम भएको बताए । ‘‘अहिले त यस्तो छ वर्षामा कस्तो हुने होला ?’’ ढकालले भने, ‘‘निक्कै दुःख पाइयो, यात्रुलाई पनि त्यस्तै सास्ती छ ।’’

जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले २४सै घण्टा प्रहरी परिचालन गर्दा पनि समस्या समाधान हुन नसकेको बताए । ‘‘अगाडी हेवि लोडवाला गाडी फसेका छन्, जसले गर्दा साना सवारी साधन पनि पास हुन नसकेर जाम अत्याधिक भएको छ,’’ प्रहरी निरीक्षक बन्जराले भने ।


सम्बन्धित
Loading...