निर्वाचन कारण पछाडि घकेलियो कावासोती खानेपानीको रजत जयन्ती समारोह

रामकुमार श्रेष्ठ –
नवलपुर । निर्वाचनका कारण कावासोती नगरपालिकाको रजत जयन्ती समारोह पछाडि धकेलिएको छ ।
सोमबार कावासोती खानेपानीमा बसेको रजय जयन्ती आयोजक समितिको सचिवालयको वैठकले समापन समारोह लगायतका कार्यक्रम पछाडि गर्ने निर्णय गरेको हो ।
कावासोती खानेपानीका अध्यक्ष दिपक लम्सालका अनुसार वैठकले यस अघि तय भएर खबर गरिसकेका कार्यक्रमहरु सोही समय र मितिमा गर्ने तथा समापन समारोह लगायतका ठूला कार्यक्रमहरु चैत्र २५ गतेसम्म गरिसक्ने गरी नयाँ तालिका बनाउने गरी निर्णय भएको जानकारी दिए ।
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्था स्थापनाको २५ बर्ष पुरा भएको अवसर पारेर रजत जयन्ती मनाउन लागिएको हो ।
रजत जयन्ती मनाउनका लागि ३१ सदस्यीय सचिवाल, ५ सय १ सदस्य मुल आयोजक समिति, विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
त्यसैगरी रजत जयन्तीको अवसर पारेर स्मारिका प्रकाशन, रजत स्तम्भ निर्माण तथा अनावरण, कविता प्रतियोगिता, निबन्ध प्रतियोगिता, स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु पनि तय गरिएको छ ।
यसैबीच नवलपुरको कावासोती खानेपानी तथा सरसफाइ संस्थाले आफ्नो रजत जयन्तीको अवसरमा टोल विकास संस्थालाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।
खानेपानीले स्वास्थ्य र वातावरणमा पार्ने प्रभावका बारेमा जानकारी दिन उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रममा कावासोती खानेपानीको सेवा क्षेत्रभित्र पर्ने ६ वटा वडाका ७५ वटा टोल विकास संस्थाका अध्यक्ष तथा सचिवहरूको सहभागिता रहने संस्थाका अध्यक्ष दिपकराज लम्सालले जानकारी दिए ।
कार्यक्रम माघ १४ गते बिहान ११ बजे कावासोती खानेपानीको सभाहलमा सञ्चालन हुने अध्यक्ष लम्सालले बताए ।