जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत नवलपुर क्षेत्र नं. १ मा विजयी हुने आधार बलियो बन्दै गएको उल्लेख गर्दै सापकोटाले जनताको विश्वास र साथ नै आफ्नो मुख्य शक्ति भएको बताए। सोमबार गैँडाकोट नगरपालिकाका विभिन्न वडामा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले जनताका सामान्यभन्दा सामान्य समस्यासमेत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “सामान्य घर–छेउका नाला व्यवस्थापनदेखि सडक पूर्वाधार सुधारसम्मका काम प्राथमिकतामा राखिनेछ। जनताले भोगिरहेका दैनिक समस्याको दीर्घकालीन समाधान गर्ने स्पष्ट योजना मसँग छ।”
सापकोटाले स्वच्छ, पारदर्शी र नतिजामुखी राजनीति आफ्नो मूल लक्ष्य रहेको उल्लेख गर्दै विकास र रोजगारी सिर्जनालाई विशेष प्राथमिकता दिने बताए। क्षेत्रका युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्ने आफ्नो संकल्प रहेको उनले दोहोर्याए।
घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै उनले यसपटकको निर्वाचनमा जनताको उत्साह र समर्थन उल्लेखनीय रहेको दाबी गरे। जनताको भरोसा र साथलाई सम्मान गर्दै आफू जिम्मेवारीपूर्वक अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।