नवलपुरमा बसको ठक्करबाट पाहुना आएकी महिलाको मृत्यु

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१४, प्रगतिनगरमा बसको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१६, सेमलार घर भई देवचुली–१४ छत्तीसघरस्थित देवरको घरमा पाहुना आएकी करिब ६० वर्षीया मञ्जु रिजाल शर्मा रहेकी जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
गएराति करिब ९ बजे प्रगतिनगरस्थित चन्द्रदीप पेट्रोल पम्प नजिकै बाटो काट्ने क्रममा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ४०६७ नम्बरको बसले शर्मालाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डामा गएराति उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।