कावासोती नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
प्रेम न्यौपाने
कावासोती, ११ जेष्ठ ।
११ औं राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत कावासोती नगरपालिका स्तरीय अन्तर मा.वि. खेलकुद प्रतियोगिता शहीद स्मृति सामुदायिक मा. वि. को खेलमैदानमा शनिबारदेखि शुरु भएको छ । संघीय सांसद तिलक महतले एक समारोहका विच समुदघाटन गर्दै खेलकुद प्रतियोगिता शुभारम्भ भएको घोषणा गर्नुभयो ।
समुदघाटन समारोहलाइ सम्बोधन गर्दै सांसद महतले खेलकुद हरेक नागरिकको स्वास्थ्य र राष्ट्रको पहिचान सँग जोडिएको क्षेत्र भएकाले यसको चौतर्फी बिकासमा सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो । खेलकुद राज्यको महत्त्वपूर्ण अङ्ग भएको बताउँदै उहाँले यसको विकासका लागि राज्यले छुट्टै नीति अवलम्बन गर्ने बताउनुभयो । शहीद स्मृति सामुदायिक मा वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भण्डारीको अध्यक्षता तथा प्रतिनिधि सभाका सांसद तिलक महतको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन कार्यक्रममा कावासोती नगरपालिकाका नगर शिक्षा अधिकृत राजन पाण्डे विशेष अतिथि रहनुभएको थियो । कार्यक्रममा सहभागी खेलाडीहरुले मार्चपास गर्दै सांसद महतलाइ सलामी अर्पण गरेका थिए ।
शहीद स्मृति सामुदायिक मा. वि. को व्यवस्थापनमा शुरु भएको प्रतियोगितामा कावासोती नगरपालिका भित्र रहेका १६ वटा सामुदायिक माध्यमिक विद्यालय मध्ये १४ वटा विद्यालय र ११ वटा संस्थागत माध्यमिक विद्यालय मध्ये ६ वटा विद्यालयहरुले सहभागिता जनाएका छन । प्रतियोगितामा भलिबल ,कपर्दी र एथलेटिक्स अन्तर्गतका विभिन्न इभेन्ट्सहरुमा छात्र र छात्राहरुको छुट्टाछुट्टै स्पर्धा हुने विद्यालयका प्रधानाध्यापक गोपाल ज्ञवालीले जानकारी दिनुभयो । प्रतियोगिता जेष्ठ १३ गते सम्म सन्चालन हुनेछ।