श्रीलंकामा दुर्इ प्रधानमन्त्री ! मन्त्रीलार्इ अपहरण गर्न खोज्दा गोली चल्यो
कोलोम्बो : श्रीलंकामा गहिरिँदो राजनीतिक संकटबीच राजधानी कोलम्बोमा गोली चलेको छ । समाचार अनुसार राष्ट्रपति सिरिसेनाका समर्थकले बर्खास्त सरकारका पेट्रोलियम मन्त्री अर्जुन रणतुङ्गालार्इ अपहरण प्रयास गरेका हुन् । त्यसपछि रणतुङ्गाका सुरक्षागार्डले गोली चलाउँदा कम्तिमा ३ जना घाइते भएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार गोली चलाउने गार्डलार्इ गिरफ्तार गरिएको छ। रिपोर्ट अनुसार जब अर्जुन रणतुङ्गा आफ्नो सरकारी कार्यालयबाट सिलोन पेट्रोलियम कर्पोरेशनमा गइरहेका थिए त्यही बेला हंगामा भयो । त्यसैक्रममा उनका गार्डले गोली चलाएका हुन् ।
पुलिस प्रवक्ता रुवान गुनसेकराका अनुसार सिलोन पेट्रोलियम कर्पोरेशन बाहिर पुलिस तैनाथ गरिएको छ। अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त छ ।
यसैबीच श्रीलंकाको संसदका सभामुख कारु जयसूर्याले संकटमा फसेको रानिल विक्रमसिंघेलार्इ राहत दिँदै आइतवार उनलार्इ देशको प्रधानमन्त्रीकारूपमा मान्यता दिएका छन् । युएनपी नेता विक्रमसिंघेलार्इ राष्ट्रपति मैत्रीपाला सिरीसेनाले शुक्रवार प्रधानमन्त्री पदबाट बर्खास्त गरेका थिए ।
समाचार एजेन्सी भाषाका अनुसार सिरीसेनालार्इ लेखेको एक पत्रमा जयसूर्याले १६ नोभेम्बरसम्म सदन निलम्बित गर्ने उनको निर्णयमा पनि प्रश्न उठाएका छन् । उनले पत्रमा गम्भीर एवम् अवान्छनीय परिणाम भोग्नुपर्ने चेतावनी दिँदै राष्ट्रपतिलार्इ विक्रमसिंघेलार्इ सरकारका नेताका रूपमा मिलेको विशेषाधिकार फेरि बहाली गर्ने भनेका हुन् ।
यता अन्तर्राष्ट्रिय मानवाधिकार संगठन ह्यूमन राइट्स वाचले आइतवार महिन्दा राजपक्षेलार्इ प्रधानमन्त्री नियुक्त गर्ने श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्णयले देशलार्इ एक पटक फेरि गलत बाटोमा लगेको टिप्पणी गरेको छ।