मेयर थापाको दुई वर्षको तलब भत्ता सामाजिक कार्यमा
परासी, ८ साउन
पश्चिम नवलपरासी सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाले दुई वर्षको अवधिमा पाएको तलब भत्तावापतको सम्पूर्ण रकम सामाजिक कार्यमा खर्चेका छन् । नगरप्रमुखको कार्यभार समालेको दुई वर्ष पुगेको छ । यसअवधिमा नगरप्रमुख थापाले तलब भत्तावापत १५ लाख पाएका हुन् ।
यसअघि भत्तावापत पाउँदै आएको रकम थापाले जेष्ठ नागरिक, असाहय र विपन्नको जीविकोपार्जन र उपचार खर्चमा उपलब्ध गराउँदै आएका थिए । पछिल्लो पटक तलबवापतको रकम सुनवल स्वास्थ्य चौकीलाई उपलब्ध गराएका हुन् । २०७६ असारसम्मको तलबवापत हुन आउने ८ लाख ४० हजार रुपैयाँ उनले सुनवल स्वास्थ्य चौकीलाई उपलब्ध गराएका हुन् ।

नगरप्रमुखको मासिक तलब ३५ हजार छ । नगरप्रमुख निर्वाचित भए लगत्तै थापाले आफूले पाउने तलब, भत्तासहितका सबै सुविधा सामाजिक कार्यमा खर्चिने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुसार अहिलेसम्म पाउँदै आएको सम्पूर्ण सुविधावापतको रकम सामाजिक कार्यमा थापाले बताए ।
गोष्ठी, सेमिनारमा सहभागी भए भत्तावापत उनले हालसम्म ६ लाख रुपैयाँ भत्ता पाएका छन् ।
त्यसैगरी दैनिक भ्रमण भत्तावापत ९० हजार पाएका छन् । उक्त सबै रकम जेष्ठ नागरिकको धार्मिक यात्रा, विपन्न परिवारको काजक्रिया खर्च, विपन्नलाई जीविकोपार्जनका लागि रिक्सा खरिद र औषधि उपचारमा उपलव्ध गराएको थापाले बताए ।यस आर्थिक वर्षदेखि पाउने सम्पूर्ण रकम पनि शिक्षा, स्वास्थ्य र विपन्नहरुको सहयोगमा खर्चिने नगरप्रमुख थापाले बताए ।