बोरिस जोनसन ब्रिटेनको नयाँ प्रधानमन्त्री
ब्रिटेनमा सत्ताधारी कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएका बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेका छन्।
बकिङघम दरबारमा महारानी एलिजावेथ द्वितीयालाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिंग स्ट्रिटमा फर्किएर जोनसनले देशवासीका नाममा सम्बोधन गरे।

त्यसक्रममा आफूलाई महारानीले नयाँ सरकार गठन गर्न निम्तो दिएको र आफूले त्यसलाई स्वीकार गरेको उनले बताए।
साथै जोनसनले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रीत बनाउने उल्लेख गरे।
उनले आगामी ३१ अक्टोबर भित्र यूके युरोपेली संघबाट अलग भइसक्नेमा आफू विश्वस्त रहेको पनि बताए।
उनले ब्रिटेनका नागरिकहरूले लामो प्रतिक्षा गरिसकेको र अब परिणाम दिनुपर्ने समय आएको बताए।
“मेरो जिम्मेवारी तपाईं नागरिकहरूको सेवा गर्नु हो,” जोनसनले भने।
बुधबार दिउँसो सत्ता सम्हालेपछि कन्जरभेटिभ पार्टीका नयाँ नेता तथा प्रधानमन्त्री जोनसनले बरिष्ठ मन्त्रीहरूको नाम घोषणा गर्ने अनुमान छ, तिनमा चान्सलर अफ एक्सचेकर भनिने अर्थमन्त्री र गृहमन्त्री पनि पर्दछन्।