सुनसान सौराहा बर्सातपछि पर्यटक आगमन संख्या घट्यो


राधेश्याम खतिवडा



चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहामा बर्सात पछि पर्यटक घटेका छन् । विगतको बर्सातको समयभन्दा यस वर्ष पर्यटक घटेको पर्यटन व्यवसायीले बताएका छन् । राप्ती नदी किनारमा रहेका रेस्टुरेन्ट सुनसान भएका छन् ।

बर्सात बढेको, अन्य क्षेत्रमा पर्यटकीय गन्तव्य विस्तार, निकुञ्जभित्रको हुने गतिविधिमा कमी भएका कारण पर्यटक आगमन कमी आएको हो । असार महिनाको सुरुवातदेखि घट्दै गएको पर्यटकको संख्या साउन महिनाको पहिलो साता सम्ममा अत्यन्त कम भएको व्यवसायी बताउँछन् ।




समूहमा आउने पर्यटक घटेका, दैनिक बसको यात्रामा आउने पर्यटकको संख्या पनि कम भएको बताउँदै क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले होटलमा १० प्रतिशत मात्र पर्यटक आउने गरेको बताए । सफारीका लागि सौराहा आउने पर्यटक घटेको जानकारी दिँदै उनले बर्सातका कारण जंगल र डुंगा सफारी सहज नहुने भएकाले पर्यटक घटेको बताए ।

गत वर्षको बर्सातको समयमा दैनिक १५० पर्यटक गाडीमा आउने गरेको तथ्यांक भए पनि यस वर्ष दैनिक सय पर्यटक पुग्न मुस्किल भएको व्यवसयायी बताउँछन् ।

बर्सातको समयमा पर्यटक कम हुने नियमित अवस्था भएको बताउँदै अध्यक्ष घिमिरेले आन्तरिक पर्यटक बर्सातको समयमा कम हुने गरेको बताए ।

‘आउनैपर्ने आएका छन्, घुमेर मनोरञ्जन लिनेगरी आउने पर्यटक घटेका छन्’ अध्यक्ष घिमिरेले भने, ‘बर्सातको कारण हात्ती, डुंगा र जिप सफारीमा समस्या हुने गरेकाले पर्यटक कम भएका हुन् ।’ भदौपछि विस्तारै पर्यटकको चाप बढ्दै जाने उनले बताए । अहिले चितवन राष्ट्रिय निकुञ्जले असार २१ गतेबाट जंगल सफारी बन्द गरेको छ ।

२०७२ साल अघिसम्म यो मौसम होटल र रेस्टुरेन्टले मजदुरलाई छुट्टी दिने गरेका थिए । त्यसपछिका वर्षमा बिदा नदिएको भए पनि यस वर्ष केही होटलले पर्यटक निकै कम भएपछि मजदुरलाई सहमतिमा बिदा दिइरहेको रेस्टुरेन्ट एन्ड बार एसोसियसन सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए ।

सौराहामा ५६ वटा रेस्टुरेन्ट रहेका छन् । राप्ती नदीको किनारमा रहेका आठवटा रेस्टुरेन्ट बाढीका कारण अहिले सामग्री हटाएर बसेका छन् । दुई वर्षअघि वर्षाले सौराहाका अधिकांश होटल डुबानमा परेपछि पर्यटकको उद्धार गर्नुपरेको थियो ।

सौराहामा ११० वटा पर्यटकीय होटल रहेका छन् । यी होटलमा २ हजार ७५० जना पर्यटक बस्न सक्ने क्षमता रहेको छ । त्यहाँ ५६ रेस्टुरेन्ट रहेका छन् । यी रेस्टुरेन्टमा ३ हजारदेखि ५ हजारसम्मलाई एकैपटक खुवाउन सक्ने क्षमता रहेको छ ।



सम्बन्धित
Loading...